अवैध कारखानामा प्रहरीको छापा, ५ पक्राउ



काठमाडौं : प्रहरी परिसर काठमाडौंले चन्द्रागिरि १५ नैकापस्थित एक घरमा सञ्चालित अवैध कारखानामा छापा मारेको छ । 

स्थानीय बासुप्रसाद बिडारी र ज्योति बिडारीको घरमा सञ्चालित ज्योति सप एन्ड केमिकल इन्ड्रस्ट्रिजमा मंगलबार प्रहरीले छापा मारेको हो । 

प्रहरीले बिडारी दम्पती र तीन कामदारलाई नियन्त्रणमा लिएको छ । उक्त कम्पनीले हेयर एन्ड सोल्डर्स स्याम्पो र बीएमसी मिट मसलाको ब्रान्डमा नक्कली उत्पादन गर्दै आएको थियो ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिडारी दम्पतीले डेढ वर्षयता ३ वटा ठूला मेसिन राखेर नक्कली स्याम्पो र मसाल उत्पादन गर्दै आएका थिए ।

नक्कली उत्पादन विशेषगरी धादिङ र अन्य जिल्लाका ग्रामीण भेगमा बिक्रीमा पठाउने गरिएको प्रहरीले पत्ता लगाएको छ । उक्त कम्पनीले आफ्नो अवैध उत्पादन लुकाउन बिलविजक र सामान बिक्रीको कुनै रेकर्ड नराखिएको प्रहरीले जनाएको छ ।

परिसर काठमाडौंले उनीहरुविरुद्ध कालोबजारी ऐन, ट्रेडमार्क चोरीमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्