सर्जनको हत्यापछि खुल्यो एकपछि अर्को हत्याको योजना



काठमाडौं । अढाइ करोड रुपैयाँ बीमा रकमको लोभमा हत्या गरिएका बाँके कोहलपुरका सर्जन विकसँग जोडिएर थप त्यस्तै प्रकृतिका घटनाहरू भएका पाइएको छ। विकको हत्यामा संलग्नहरूले एकपछि अर्को घटना गराउने तयारी गरेका पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

उक्त हत्याकाण्डमा संलग्न समूहबारे थप अनुसन्धान गर्दै जाँदा उनीहरूले यसअघि पनि यस्तै घटना गराएका र यस घटनापछि पनि अर्को घटना गराउने तयारी गरेका पाइएको सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीले जानकारी दिए। हत्या गरिएका सर्जनकी दिदी दुर्गा विकसँग गिरोहका मुख्य नाइके सञ्जीव अर्यालले त्यसअघि नक्कली विवाह गरेको खुलेको हो।

सीआईबी स्रोतका अनुसार नक्कली विवाहपश्चात् दुर्गाको पनि अढाइ करोड रुपैयाँकै बीमा गरिएको थियो। जतिबेला सञ्जीवले २ पटक दुर्घटना गराएर दुर्गालाई मार्ने प्रयास गरेका थिए तर संयोगवश दुर्गाको मृत्यु भएन । दुर्गालाई मार्ने प्रयास पटकपटक असफल भएपछि सञ्जीवले बीमा सरेन्डर गरेको एआईजी सुवेदी बताउँछन्। अनुसन्धानकै क्रममा सर्जनकी दिदीसँग सञ्जीवले नक्कली विवाह गरेर बीमा रकम हत्याउन खोजेको खुलेको हो।

‘पटकपटक दुर्घटना गराउँदा पनि दुर्गाको मृत्यु नभएपछि उनकै भाइलाई प्रयोग गरेको अनुसन्धानबाट देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्। त्यसपछि सञ्जीवको गिरोहले दुर्गाकै भाइ सर्जनको नक्कली विवाहसँगै बीमा गराएर हत्या गर्ने योजना बनाएको पाइएको हो।

मोटो रकमको जीवन बीमा गराउने र बीमितको हत्या गरी उक्त बीमाको पैसा निकाल्ने योजनाअनुसार सञ्जीवको गिरोहले सर्जनको नाममा २८ फागुन २०७८ मा बीमा गरिदिन्छन् । सर्जनले इच्छाएको व्यक्तिमा पत्नी उल्लेख गरेर सपना मल्लको नाम राख्छन् ।

सपना र सर्जनको पहिल्यैदेखिको चिनजान भने होइन । सुरुमा कोहलपुर– १ की ललिता सापकोटाले सर्जनको सपना र सञ्जीवबीच भेट गराइदिएकी हुन्छिन् । सञ्जीवसहितको टोलीले नै सपना र सर्जनबीच चिनजान गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभन देखाएर उनीहरूले सर्जन र सपनालाई विवाहका लागि राजी बनाउँछन् ।

त्यसपछि बीमा गरेकै दिन औपचारिक रूपमा विवाह नगरे पनि सञ्जीवको डिजाइनमा सपना र सर्जन विवाह दर्ता गर्न सम्बन्धित कार्यालयमा जान्छन्। तर, विवाह दर्ता गराउन गए पनि सर्जनको उमेर नपुगेका कारण सो दिन विवाह दर्ता हुँदैन । त्यसपछि उनीहरूले २ चैतमा मात्र विवाह दर्ता गर्छन् ।

अनि सर्जनको हत्या योजना

उनीहरूले कानुनी रूपमा विवाह दर्ता गराएको महिना दिनमा अर्थात् २ वैशाख २०७९ मा सञ्जीवसहितको गिरोहले सर्जनको हत्या गर्ने योजना बनाउँछन्। सर्जन टिपरमा बालुवा लोड गराउने काम गर्थे । राति ११ बजेको समयमा सर्जन चढेको भे१०प १७२७ नम्बरको मोटरसाइकललाई भे१ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिन्छ।

गम्भीर घाइते विकको उपचारको क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु हुन्छ। सर्जनको मृत्यु भएको २६ दिनपछि अर्थात् २७ वैशाखमा मिनी बस चालक टोपबहादुर राना क्षेत्रीविरुद्ध जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो । मोटरसाइकल धनी हुन् कोहलपुरकै सरदार अहमद खाँ। उनीहरूविरुद्ध मुद्दा दर्ता भए पनि फैसला भने आइसकेको हुँदैन ।

यता, श्रीमान्को सवारी दुर्घटनामा मृत्यु भएको भन्दै सर्जनकी श्रीमती सपनाले नाता प्रमाणितलगायत काजगपत्र लिएर बीमा दाबी गर्न थालिन्, जतिबेला सर्जनको नाममा २ करोड ५० लाख रुपैयाँको बीमा गरिएको ३७ दिन मात्र भएको थियो । प्रक्रिया पुगेपछि उनले इच्छाइएको व्यक्तिका रूपमा बीमा रकम स्वतः पाउने भइन् ।

त्यसपछि बीमा गरिएको रिलायन्स इन्स्योरेन्स कम्पनीले पनि विशेष कार्यक्रम नै गरेर सपनालाई बीमाबापतको भुक्तानी हस्तान्तरण गर्छ । सपनाले १३ साउनमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट बीमाको भुक्तानी लिन्छिन् । रकम जस्तै ठूलो चेक उनलाई हस्तान्तरण गरिएको हुन्छ ।

रिलायन्सले होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेर बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजु रमन पौडेलको रोहबरमा चेक हस्तान्तरण गरेको हो। रिलायन्सले सर्जनको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमाबापत प्राप्त २ करोड ५० लाख रुपैयाँ सपनाको कोहलपुरस्थित कामना विकास बैंकको खातामा जम्मा गरिदिएको थियो ।

श्रीमान्को मृत्यु हुँदा एउटी श्रीमतीको मन कस्तो होला ? तर, बीमाबापतको रकम लिन जाँदा सपनाको आँखामा कुनै पीडाभाव नझल्कनुले शङ्का गर्ने ठाउँ रहन्छ। कार्यक्रममा उपस्थित जो कोही पनि सपनाको व्यवहार देखेर अच्चभित हुन्छन्। त्यसपछि बीमा कम्पनीले कार्यक्रम गरेरै रकम हस्तान्तरण गरे पनि आशङ्का लागेपछि अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाउँछ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले समेत यस घटनालाई गम्भीर रूपमा लिन्छ । त्यसैले पुनर्बीमा कम्पनी र इन्स्योरेन्सले ३० फागुन २०७८ मा सर्जनको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शङ्कास्पद देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गर्छ । सीआईबीले अनुसन्धान सुरु गरेपछि अझै चाखलाग्दो रहस्य फेला पर्छ।

सर्जनको मृत्यु भएपछि उनकी श्रीमती भनिएकी सपनाले दाह संस्कारसमेत नगरेको तथ्य प्रहरीले थाहा पाउँछ। आफ्नै पतिको दाह संस्कारमा सपना सहभागी नहुनुले घटना योजनाबद्ध रूपमा गराइएको हुन सक्ने निष्कर्षमा प्रहरी पुग्छ। अनुसन्धानका क्रममा श्रीमान्–श्रीमती भनिए पनि मृतक सर्जन र सपनाका बीचमा खासै भेटघाट भएको समेत देखिँदैन।

२८ फागुन २०७७ मा विवाह दर्ताका लागि पहिलो पटक उनीहरूको भेट भएको देखिन्छ । त्यसपछि विवाह दर्ता गर्नका लागि २ चैतमा उनीहरूबीच भेट भएको हुन्छ । विवाद दर्तापछि श्रीमान्–श्रीमती भनिएका मृतक सर्जन र सपना आपसी सम्पर्कमै नरहेको सीआईबीको दाबी छ ।

एकैचोटि सर्जनको मृत्यु भएर बीमा कम्पनीबाट दाबी भुक्तानी गर्न मात्र सपना इन्स्योरेन्स कार्यालयमा पुगेकी हुन् । बीमाबाट पाएको २ करोड ५० लाख रुपैयाँमध्ये सपनाले ८६ लाख ८९ हजार, उनकी आमा छविकुमारीले १७ लाख ४६ हजार, सञ्जीवले ८० लाख ३६ हजार र दीपकले ६० लाख रुपैयाँ लिएको पाइएको हो ।

त्यसपछि ९ साउनमा दिल्ली हुँदै जापान जाने क्रममा रहेकी सपना दिल्ली विमानस्थलबाट पक्राउ परेकी हुन्। सर्जनसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख रुपैयाँ लिएकी सपना, मुख्य योजनाकार सञ्जीव, सञ्जीवसँग पूर्वचिनजान भएका रिलायन्स लाइफका बीमा एजेन्ट सरदार अहमद खाँ, सपनालाई विदेश लैजाने भनी सञ्जीवसँग भेट गराउने आरती उपनाम भएकी ललिता सापकोटा, सर्जनलाई ठक्कर दिएर मृत्यु गराउने टोपबहादुर, काठमाडौंमा बीमाको भुक्तानी लिन सपनालाई ल्याउने दीपक केसी उक्त गिरोहका सदस्यहरू हुन् ।

उनीहरू ६ जनालाई नै लामो अनुसन्धानपछि पक्राउ गरेर सीआईबीले १३ साउनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको छ। उनीहरूविरुद्ध ज्यान मार्ने कसुरमा र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय बाँकेबाट थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सर्जनको हत्यापछि तेस्रो योजना तयार

यस गिरोहले आवश्यकताअनुसार पात्रको चयन गर्ने तर उस्तै प्रकृतिको घटना गराएर कमाउ धन्दा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। डिपेन्डेन्ट भिसामा विदेश जाने तयारीमा रहेकालाई रोज्ने र मोटो रकमको जीवन बीमा गराउने अनि बीमितको हत्या गरी उक्त बीमाको पैसा निकाल्ने यस गिरोहको धन्दा नै भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।

सर्जनको हत्या गरेर अढाइ करोड रुपैयाँ झिक्न सफल भएलगत्तै यस गिरोहले फेरि अर्को घटना गराउने तयारी गरिसकेको र त्यसका लागि पात्र पनि तयार गरिसकेको सीआईबी स्रोतले बतायो ।

‘यस गिरोहले सुनिल चौधरी र करिश्मा विकको नक्कली विवाह गराइसकेको अनुसन्धानका क्रममा पाइएको छ। अनि, रिलायन्समै अर्को अढाइ करोड रुपैयाँको जीवन बीमा गर्ने तयारी भइसकेको थियो’, स्रोतले भन्यो।

यस्ता घटनाबाट हतोत्साहित बन्दै तत्कालै अत्तालिने भन्दा पनि योजनाबद्ध तरिकाले बीमालाई अपराधसँग जोडिन नदिन सबै सचेत र सजग बनाउन आवश्यक देखिएको एआईजी सुवेदीको भनाइ छ। उनी थप्छन्, ‘त्यसका लागि नियामक निकाय बीमा समितिले समयसमयमा तालिम तथा प्रशिक्षणहरू दिन आवश्यक छ।’

यता, २५ माघ २०७८ मा बाँके जिल्ला अदालतले सर्जनलाई ठक्कर दिने मिनी बस चालक रानालाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिमाना सुनाएको छ भने मोटरसाइकल धनी सरदार अहमद खाँलाई सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्