प्रचण्डलाई ‘लड्डु’ : चितवन कि गोरखाको ?



काठमाडौं । दलहरू ४ मङ्सिरमा हुने चुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा छन्। चुनावैपिच्छे क्षेत्र परिवर्तन गरिरहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक कहाँबाट चुनाव लड्दै छन् भन्ने आमचासो छ।

प्रचण्डको नाम गोरखा– १ बाट सिफारिस भएको छ। यसअघि २०७४ सालको चुनावमा उनी चितवन–३ बाट निर्वाचित भएका थिए। तर, यसपटकको चुनावमा प्रचण्डको नाम गोरखा– १ बाट समेत सिफारिस भएका कारण कहाँबाट उठ्लान् ? भन्ने चासोको विषय बनेको हो।

गोरखा– १ मा प्रचण्डसहित माओवादी केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिंखडाको नाम सिफारिस भएको छ। अहिलेसम्म चितवन– ३ मा प्रचण्डको नाम सिफारिस भएको छैन। यसपटकको चुनाव पनि उनी चितवन–३ बाटै लड्छन् कि गोरखा–१ बाट भन्ने निक्र्यौल भइसकेको छैन। सार्वजनिक कार्यक्रमहरूमा भने प्रचण्डले चितवन– ३ नछाड्ने बताउँदै आएका छन्।

प्रतिनिधिसभातर्फ २ वटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरे पनि प्रचण्डले शुक्रबार समेत सुर्खेत पुगेर चितवन– ३ बाटै चुनाव लड्ने घोषणा गरे। त्यतिमात्र होइन, जापान भ्रमणको बेलामा समेत प्रचण्ड सिन्धुलीबाट चुनाव लड्ने खबर आएपछि खण्डन गर्दै उनले भनेका थिए, ‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला।’

प्रचण्डले यसो भनिरहँदा माओवादी नेता/कार्यकर्ताहरू अलमलमै छन्। ‘आफूलाई जहाँबाट जित्छु जस्तो लाग्छ, प्रचण्ड त्यहीँबाट चुनाव लड्नेछन्,’ प्रचण्डलाई नजिकबाट चिन्नेहरू बताउँछन् । यसपटक परिस्थिति परिवर्तन भएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग मिलेर प्रचण्ड चुनाव लड्दै छन् । एमालेले भने प्रचण्डलाई जसरी पनि हराउने रणनीति बनाउँदै छ।

२०७४ सालको चुनावमा प्रचण्ड चितवन– ३ बाट नेकपा एमालेसँगको तालमेलमा भारी मतान्तरका साथ विजयी भएका थिए। तर, यसपटक प्रचण्डलाई चितवन– ३ बाट पहिलाको जस्तो सहज जित निकाल्न गाह्रो छ।

किनकि चितवन– ३ बाटै एमालेबाट रामबहादुर थापा ‘बादल’ उठ्न सक्ने सम्भावना छ। बादल यसअघि माओवादीमा रहे पनि नेकपा फुटेपछि एमालेतिर लागेका हुन् । त्यसैले प्रचण्डलाई चुनौती बनेका छन्।

क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेबीच तालमेल हुने सम्भावना पनि छ। राप्रपाका विक्रम पाण्डेको समेत क्षेत्र हो– चितवन ३। यसअघिको चुनावमा प्रचण्ड र पाण्डेबीच प्रतिस्पर्धा भएको थियो । पाण्डेको समेत राम्रो प्रभाव छ ।

एमालेका एक नेताकाअनुसार प्रचण्ड चितवन–३ बाट चुनावमा होमिएको अवस्थामा एमालेले पाण्डेलाई सहयोग गरेर बादललाई समानुपातिकमा राख्नेबारे पार्टीमा छलफल भइरहेको छ। यस्तो अवस्थामा प्रचण्डलाई चुनाव जित्न मुस्किल हुने अनुमान एमालेको छ।

५ दलीय गठबन्धनबाट प्रचण्ड र एमालेले सहयोग गरेको अवस्थामा पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएकाले विकल्पमा प्रचण्डको नाम गोरखा– १ बाट समेत सिफारिस गरिएको हुन सक्ने ती नेता बताउँछन् । यसअघि प्रचण्डलाई जिताउन एमालेकै नेताहरू लागिपरेका थिए भने योपटक प्रचण्डलाई हराउन एमालेहरू लागिपर्नेछन् ।

यसअघि प्रचण्डलाई जिताउन लागिपरेका एमाले नेता/कार्यकर्ताले योपटक पाण्डेलाई सहयोग गर्न सक्छन् । यसअघि प्रचण्डका लागि कांग्रेसी कार्यकर्ता चुनौतीका रूपमा देखापरेका थिए भने अहिले त्यस्तो अवस्था छैन।

कांग्रेसको समेत राम्रो जनमत रहेको चितवन– ३ मा प्रचण्डलाई सोचेजस्तो नतिजा निकाल्न चाहिँ गाह्रो नै रहेको माओवादीकै एक नेता बताउँछन्।बारम्बार चितवन– ३ बाटै चुनाव लड्ने घोषणा र गोरखा–१ बाट नाम सिफारिस हुँदा प्रचण्डलाई चुनाव जित्न कहाँ सहज छ त ? गत वैशाखमा भएको स्थानीय तहको नतिजा र २०७४ सालको समानुपातिक मतलाई आधार मान्नुपर्ने हुन्छ ।

गोरखामा प्रचण्ड
गोरखा– १ मा गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका, भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुव्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ पर्छ। स्थानीय चुनावमा जिल्लामा ११ पालिकामध्ये ९ वटा माओवादी केन्द्रले जितेको हो।

जसमध्ये २ वटा नेपाली कांग्रेसले जितेको थियो । स्थानीय चुनावलाई आधार मान्दा गोरखा– १ बाट प्रचण्डको नाम सिफारिस भइरहँदा लगभग उनको जित सुनिश्चित देखिन्छ। यो क्षेत्रमा पर्ने ७ स्थानीय तहमध्ये ६ वटाको नेतृत्व माओवादी केन्द्रले नेतृत्व जितेको छ।

गोरखा क्षेत्र नम्बर १ सँग प्रचण्डको भावनात्मक सम्बन्ध पनि छ। प्रचण्डले यो निर्वाचन क्षेत्रमा पर्ने आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा २०३३ सालमा शिक्षकको रूपमा काम गरेका थिए । गोरखा क्षेत्र नम्बर १ मा माओवादीको जनमत राम्रो भएको मानिन्छ ।

स्थानीय तहमा क्षेत्र नम्बर १ अन्तर्गत गण्डकी, शहीद लखन, भीमसेन, धार्चे, चुमनुव्री र गोरखा नगरपालिका माओवादी केन्द्रले जितेको थियो। त्यस्तै यो क्षेत्रमा पर्ने आरुघाट गाउँपालिका चाहिँ कांग्रेसले जितेको हो। कांग्रेसले जित्दै गर्दा पनि गठबन्धन हुने भएकाले प्रचण्डलाई नै फाइदा हुने देखिन्छ।

चितवनमा कति सहज ?

प्रचण्डले यसअघि चुनाव लडेका चितवन क्षेत्र नम्बर ३ मा माडी र भरतपुर महानगरपालिकाका १९ वडा पर्छ । चितवन– ३ मा करिब डेढ लाख मतदाता छन् । २०७४ सालको तुलनामा अहिले यस क्षेत्रमा मतदाता सङ्ख्या बढेको हो ।

२०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन– ३ बाट ४८ हजार २७६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९३५ भोट पाएका थिए । त्यतिबेला न त प्रचण्डले पाएको सबै भोट माओवादी केन्द्रको थियो, न पाण्डेले पाएको सबै भोट राप्रपा (प्रजातान्त्रिक) को।

गत स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको कुल मतपरिणाम हेर्दा त्यहाँ सत्तापक्षका ३ प्रमुख दलले ४५ हजार ३२० मत पाएका थिए । दलगत रूपमा कांग्रेस २९ हजार ३४३ मतका साथ दोस्रो र माओवादी १० हजार ९४० मतका साथ तेस्रो स्थानमा छ । एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो ।

त्यस्तै नेकपा एमालेले २९ हजार ८५१ र राप्रपाले ६ हजार १९८ भोट पाएको छ। भरतपुर महानगरका १९ वटा वडामध्ये एमालेले १८ वटा वडामा उम्मेदवार बनाएर २४ हजार ५७३ मत र ७ वटा वडाध्यक्ष उठाएको राप्रपाले १ हजार ९२८ मत पाएको थियो ।

यसैगरी १३ वडाध्यक्षमा मात्र उम्मेदवारी दिएको कांग्रेसले २६ हजार ७६२ मत, ५ वटा वडामा अध्यक्षका उम्मेदवार बनाएको माओवादीले ७ हजार १०० मत र ३ वटा वडामा अध्यक्षको उम्मेदवार बनाएको नेकपा एकीकृत समाजवादीले ३ हजार ४४९ मत पाएका थिए। त्यस्तै माडीका ९ वडामध्ये सबैमा उम्मेदवारी दिएका दलहरूमा एमाले ५ हजार २७८ मतका साथ पहिलो र ४ हजार २७० मतका साथ राप्रपा दोस्रो स्थानमा छ।

४/४ वटा वडामा उम्मेदवारी दिएका माओवादीले ३ हजार ८४० र कांग्रेसले २ हजार ५८१ मत पाए। २ वडामा उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादीले १ हजार ५८८ मत पाएको छ । क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाभन्दा सत्ता गठबन्धन झन्डै १० हजार मतले अघि देखिए पनि तालमेलका कारण वडाको मतपरिणामका आधारमा दलहरूको वास्तविक हैसियत भन्न सकिन्न ।

यस्तै २०७४ सालमा एमाले र कांग्रेसले उम्मेदवार नउठाएको चितवन–३ मा समानुपातिक मत परिणामका आधारमा ४ मङ्सिरमा हुने चुनावको अनुमान लगाउन सकिन्छ । तर, समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त मत हेर्दा त्यहाँ कांग्रेस समर्थक सबैभन्दा बढी रहेको देखिन्छ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले २६ हजार, एमालेले २४ हजार, माओवादीले २३ हजार र राप्रपा (प्रजातान्त्रिक)ले साढे ५ हजार मत ल्याएका थिए। समानुपातिक मत हेर्दा कांग्रेस र माओवादी मिलेको अवस्थामा प्रचण्डले चितवन–३ बाट चुनाव जित्ने सम्भावना छ। तर, तालमेल नगरेको अवस्थामा प्रचण्डलाई गाह्रो छ।

प्रतिक्रिया दिनुहोस्