शक्तिको दुरुपयोग : मन्त्रीको आदेशमा सुरक्षागार्ड पक्राउ



काठमाडौं । घटना गत शुक्रबारको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) सहित ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगे। मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा अन्य सर्वसाधारणहरु लाइनमा बसिरहेका थिए।

मन्त्रीको रवाफ देखाउँदै श्रेष्ठ लाइनमा नबसी भित्र जान खोजे, त्यहिक्रममा लाइन मिलाइरहेका सुरक्षागार्डले उनलाई रोके। के थाहा ती सुरक्षागार्डलाई ती व्यक्ति मन्त्री हुने भनेर। लाइनमा बस्नुस् पालो आएपछि भित्र जानुहोला सुरक्षागार्डले भने।

लगत्तै पीएसओले उनी मन्त्री भएको बताए । तर, सुरक्षागार्डले ‘जो भए पनि लाइन’मा आउनुस् भने। त्यसपछि विवाद भयो। तर जसोतसो मन्त्री श्रेष्ठले बायो मेट्रिक दिएर फर्के। यही विषयलाई लिएर मन्त्री श्रेष्ठको आदेशमा आफ्नो पीएसओमार्फत ती सुरक्षागार्डविरुद्ध प्रहरीमा जाहेरी दिएर पक्राउ गरेपछि घटना बाहिर आएको छ । मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने ती सुरक्षागार्डलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

मन्त्री श्रेष्ठको दबाबमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर पक्राउ परेका हुन्। मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ।

यसरी नियमसंगत ढंगबाट लाइनमा बस्नुस् भन्दा पक्राउ गर्न निर्देशन दिने मन्त्रीबाट जनताले के अपेक्षा गर्ने ? मन्त्रीको पावरको अगाडि नेपाल प्रहरी समेत निरिह बन्नुपरेको छ। यस्ता घटनामा प्रहरीलाई जोडेर मन्त्रीले हुर्मत लिन खोजेको देखिन्छ।

देश र जनताको पक्षमा छु भनेर मन्त्रीको रुपमा सपथग्रहण लिइरहँदा जिम्मेवार व्यक्तिबाट नै एक सर्वसाधारणले सानो गल्ती गर्यो भन्दैमा पक्राउ गरेर हिरासतमा राख्न निर्देशन दिनु कतिसम्म न्यायोचित देखिन्छ ? यस विषयमा मन्त्री श्रेष्ठलाई सम्पर्क गर्दा फोन रिसिभ गरेनन् ।

माननीय मन्त्रीज्यूलाई अभद्र व्यवहार गरेको आरोपमा ती सुरक्षागार्डलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवंम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।

प्रवक्ता राईले भने, ‘मन्त्रीज्यूलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरेको मलाई जानकारीमा छ । त्यत्तिकै कसैलाई पनि पक्राउ गर्न मिल्दैन । केही गल्ती गरेकै भएर नै उनलाई पक्राउ गरिएको होला ।’

सुरक्षागार्डले मन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दैमा पक्राउ गरिएको कुरा छ। यति भन्दैमा पक्राउ गर्न मिल्छ ? तपाईको धारणा के हो ? भन्ने प्रश्नमा प्रवक्ता राईले लाइनमा बस्नुस् भन्दैमा पक्राउ गर्न नमिल्ने र घटनाबारे सत्यतथ्य रुपमा अनुसन्धान हुने बताए।

मातहतको प्रहरी कार्यालयले घटनास्थलको सीसीटिभी फुटेज हेरेर अनुसन्धान गरिरहेको प्रवक्ता राईले बताए। ‘घटनाबारे के भएको हो उक्त दिनको सीसीटिभी फुटेज हेरेर वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता राईले भने।

पक्राउ परेका कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्