घरमै बारी, वर्षभरि तरकारी



काठमाडौं । काठमाडौं महानगर–९ कालीमाटीडोल, सिनामङ्गलकी उमा गौतमलाई चिन्ने माध्यम अनेक छन्। उनी स्वास्थ्य स्वयंसेविका, राजनीतिक कार्यकर्ता, बत्तीसपुतली महिला विकास समितिकी अध्यक्ष, बाग्मती सुन्दरता सरोकार मञ्चकी उपाध्यक्ष, मानवअधिकार तथा शान्ति समाजकी पूर्वकेन्द्रीय सदस्य हुन् । घरमा आफ्नै टेलरिङ र सानो किराना पसल पनि छ।

केही वर्षयता गौतमलाई चिन्ने, चिनाउने अर्को शब्द थपिएको छ-कृषक। उनी विशाल फार्म र फराकिला खेतबारीकी कृषक भने होइनन्। आफ्नै घरको छतमा लहलह बोट, बिरुवाले उनलाई खेतबारीका कृषकझैँ व्यस्त बनाएको छ।

३ जनाको परिवारलाई तरकारी खासै किन्नुपर्दैन। अग्र्यानिक उत्पादन आफ्ना लागि मात्र होइन, छरछिमेकीलाई पनि बाँड्न पुग्छ। ‘टाटे सिमी वर्षभरि फल्छ, धनियाँ, हरियो लसुन प्रायः सधैँ हुन्छ’, भन्छिन्, ‘कुनै दिन तरकारीको खाँचो हुँदैन, खान ढिलो भएर बोटमै कुहिएला भन्नुपर्दैन ।’

गौतमको घर फराकिलो छैन । डेढ आनाको घरको छत, भर्‍याङ र अन्य ठाउँ बोट, बिरुवाले ढाकेका छन् । अम्बा, स्ट्रबेरी, कागती, सुन्तला, मुन्तला, ड्रागन फ्रुट, मौसमअनुसारका फलफूल र ६ थरी खुर्सानी छन् । घरको फोहोर घरमै व्यवस्थापन हुन्छ। हरेक ३ महिनामा गँड्यौले मल तयार हुन्छ।

गँड्यौले मलले बोट, बिरुवाबाट अधिकतम लाभ लिन सकिने अनुभव सुनाउँदै गौतमले भनिन्, ‘गँड्यौले मल भयो भने बजारबाट भिटामिन किन्नुपर्दैन, मिहिनेत र मल राम्रो हुँदा हाम्रोमा माछे खुर्सानी (तरकारी खाने खुर्सानी) ३ पटक फल्यो, धेरै फलेपछि बेच्यौँ पनि।’

यो खुर्सानीको बिउ बेच्ने व्यापारीले मलजल राम्रो भए २ पटक फल्न सक्ने ठहर गरेका थिए । गँड्यौलालाई नियमित जैविक फोहोर आवश्यक पर्ने भएकाले उनका छरछिमेकीले कुहिने फोहोर घरमै ल्याइदिन्छन् । गौतमको कौसी खेतीमोह बाग्मती सुधार आयोजनाले जगाएको हो।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको बाग्मती सुधार आयोजनाले बाग्मती सुधारका लागि नदीमा विभिन्न संरचना बनाउँदै छ। वरपरको फोहोर बाग्मतीमा मिसिनबाट रोके मात्र नदी सफा हुने तथ्य बुझेर अहिले यस आयोजनाले पनि बिन कम्पोस्ट र कौसी खेती प्रवद्र्धन गरिरहेको बताउँछिन् कार्यक्रमकी टोली नेता प्रभा पोख्रेल।

गौतम जस्तै सफल पात्र छन्, काठमाडौं महानगर– ११ राजेश मार्ग टोल, बबरमहलका ज्ञानकुमार बज्राचार्य। उनको ७ जनाको परिवारलाई आफ्नै छतमा उत्पादन हुने अग्र्यानिक साग–सब्जीले ठूलो राहत दिएको छ। व्यवासायिक खेतीझैँ भिन्डी, सिमी, लौका, घिरौँला, करेला, कागती, साग, काँक्रा लहलह फलेका छन् ।

यस वर्ष फर्सी फलेको र स्वाद बजारमा पाइनेभन्दा धेरै स्वादिलो भएको खुसी साट्दै उनले भने, ‘फर्सी फल्दैन कि भन्ने शङ्का थियो राम्रो भयो, घर परिवारका सदस्य सबैले अझै स्वाद बिर्सिएका छैनन्।’ लौका, फर्सी, काँक्रा जस्ता लहरे बालीले धेरै ठाउँ ओगट्ने भएकाले यो हिउँददेखि यस्ता प्रजातिलाई स्थायी थाक्रा (छतलाई बोझ कम हुने गरी) राखेर अझ व्यवस्थित गर्ने तयारीमा छन् बज्राचार्य।

बिजुली र टेलिफोनका तार, पुनः प्रयोगमा नआउने पानीका पाइप, रड, बाँसलगायतका सामग्रीलाई सदुपयोग गर्न जान्दा लहरे बोट, बिरुवालाई थाक्रा बनाउन सकिने उनले बताए। अहिले पनि पुराना जस्ता, बोरा, ड्रम, टुटेफुटेका बाल्टी, गमलामै बज्राचार्यले तरकारी र फलफूल हुर्काएका छन्।

गौतमले पनि यस्तै सामग्रीलाई अधिकतम् प्रयोग गरेकी छन्। दुवैको अनुभव एउटै छ, कौसी खेतीका लागि धेरै ठूलो खर्च गर्नुपर्दैन, नयाँ गमला, नयाँ ड्रम र अन्य सामग्री आवश्यक पर्दैन । मात्र चाहिन्छ– इच्छा शक्ति र परिवारका सदस्यको सहयोग। बढ्दो जनघनत्वले शहर साँघुरिँदै छ।

काठमाडौं जस्ता ठूला शहरका बीचमा खाली वा खेतीयोग्य जमिन देख्नु अनौठो मानिन्छ। उपत्यकाको चक्रपथबाहिर व्यावसायिक तरकारी खेती हुने गरे पनि बढ्दो शहरीकरणले खेतीयोग्य जग्गा धमाधम प्लटिङ र घरघडेरीका रूपमा परिणत भइरहेको छ। मध्यशहरका घरमा धनियाँ र खुर्सानीसमेत भेट्न मुस्किल छ।

त्यसैले शहर बजारमा जन्मे बढेका नयाँ पुस्ताका लागि कौसी खेती विद्यालय सरह हो। ‘स्ट्रबेरी कहिले टिप्ने बा, काँक्रा त कस्तो ठूलो भएछ, आज टिप्ने हो ?’, ५ वर्षीया नातिनी दृष्टिका यस्तै अनेक प्रश्न अनि नातिनीकै लवजमा जबाफ फर्काउँदा ६९ वर्षीय बज्राचार्य दङ्ग पर्छन्।

यस्तो सिकाइ दृष्टिका लागि नौलो नभए पनि उनका दाजु, दिदी उमेरका धेरैलाई आश्चर्य बन्न सक्छ। बज्राचार्य भन्छन्, ‘मेरोमा कौसी खेती भएर पो नातिनीले फलफूल र साग–सब्जी चिन्छिन्। अहिलेको नयाँ पुस्ताले पुस्तक हेरेर अधुरो ज्ञान लिन्छन्, पाठ्यपुस्तकभन्दा धेरै ज्ञान करेसा बारी र कौसी खेतीले सिकाउँछ ।’

कुन मौसममा कस्तो तरकारी रोप्ने, कहिले गोड्ने, कहिले टिप्न योग्य हुन्छ जस्ता व्यावहारिक सिकाइका लागि घर प्रयोगशाला सरह हुने अन्य विज्ञको ठहर छ। तुलसीदेखि अन्य धार्मिक प्रयोजनका बोट, बिरुवा घर कम्पाउन्डमा हुर्काउँदा नयाँ पुस्ताले महत्व बुझ्ने र अन्यलाई बुझाउन सक्ने बाग्मती सुधार आयोजनाको सामुदायिक नेतृत्व विकासमार्फत बाग्मतीको पर्यावरण सुधार कार्यक्रममा कार्यरत कौसी खेती विज्ञ शेषनारायण महर्जनको विश्लेषण छ।

विद्यालय तह पार गर्ने चरणमा रहेका विद्यार्थी यस्ता विषयबारे अनभिज्ञ रहेकाले घरकै अभिभावक तरकारी र बोट, बिरुवाबारेको जीवनचक्र, विशेषता, महत्व र जीवनचक्र बुझाउने अब्बल शिक्षक बन्न सक्ने उनको बुझाइ छ। तुलसी र अन्य फूलका बिरुवा पुराना घरका आँगनमा रोप्ने, हुर्काउने चलन नौलो होइन।

तर, साँघुरा घर अनि अपार्टमेन्टको बसोबास बढ्दै गर्दा छत र बार्दलीबाहेक बोट, बिरुवा हुर्काउने विकल्प हुँदैन। उपत्यकामा अपार्टमेन्ट संस्कृति सुरु भएपछि रहरका रूपमा कौसी खेतीको अभ्यास सुरु भएको हो। घरबाट निस्कने कुहिने फोहोर वस्तुलाई कम्पोस्ट बनाएर रासायनिक विषादीयुक्त फलफूल र तरकारी फलाउन फुलाउन सकिने कौसीले भान्साको खर्च घटाउन मद्दत गर्छ।

१ दशकअघि संयुक्त राष्ट्रसङ्घीय आवास कार्यक्रम (यूएन ह्याविट्याट)को सहजीकरणमा वातावरणका क्षेत्रमा क्रियाशील इन्फोलगायतका संस्थाको पहलमा काठमाडौंका चमती, चागल, सुविधानगरका करिब डेढ सय घरलाई कौसी खेती तालिम दिएको थियो। केही वर्षयता नगरपालिका र वडा कार्यालयले हरियाली प्रवर्द्धन तथा कौसी खेतीका लागि बजेट विनियोजन गर्दै सेवाग्राहीलाई आवश्यक सामग्री वितरण गर्न थालेका छन्। तर, आफ्ना नगरका के कति घरमा कौसी खेतीको अभ्यास छ भन्नेबारेमा नगर र वडा कार्यालयहरूसँग तथ्याङ्क छैन ।

काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/०७५ देखि सबै वडामा कौसी खेती कार्यक्रम सुरु गर्‍यो। उपभोक्तालाई ८० प्रतिशत सहुलियत दिएको महानगरले तालिम, क्यारेट, मललगायतका सामग्री उपलब्ध गरायो।

महानगरले १ घरधुरीलाई २ हजार ८०० देखि ३ हजार रुपैयाँ हाराहारी सहयोग गर्दा उपभोक्ताले ५०० रुपैयाँ मात्र योगदान गर्नुपर्ने व्यवस्था तोक्दा कौसी खेतीमा धेरैको चासो बढेको काठमाडौं महानगरको कृषि महाशाखा प्रमुख सानुमैया महर्जन स्मरण गर्छिन्।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले केही वर्षयता कौसी खेतीलाई प्रवद्र्धन गर्न कम्पोस्ट बिन वितरण गरेको छ । समितिले अहिलेसम्म करिब ६ हजारभन्दा बढी बिन वितरण गरेको छ । घरको छत वा कौसी वा कम्पाउन्डमा यो बिन प्रयोग गरी कुहिने फोहोरबाट मल बनाउन सकिन्छ ।
मल कौसी वा करेसाबारीमा प्रयोग हुन सक्छ । शहरी क्षेत्रको फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धनका लागि यो अभ्यास प्रभावकारी देखिएको छ।
यस्तो बिनको माग बढ्दो छ। बजारमा ४ हजार रुपैयाँ हाराहारी पर्ने बिनलाई समितिले १ हजार ३५० रुपैयाँका दरले उपलब्ध गराइरहेको छ।

भान्सादेखिको फोहोर बाग्मती, विष्णुमती र अन्य खोला, सडक किनारामा फ्याँक्न रोकथाम हुने समितिको बाग्मती सुधार आयोजनाकी टोली नेता पोखरेल बताउँछिन् । १०० लिटरको बिन घरायसी प्रयोजनका लागि उपयोगी भएजस्तै समितिले समुदायस्तरका लागि ५०० लिटरका बिनको डिजाइन गरेको छ। समितिले हालै बाग्मती किनारा आसपासका ६ वटा सामुदायिक संस्थालाई ५०० लिटर क्षमताका बिन हस्तान्तरण गरेको छ।

आयोजनाले फोहोर व्यवस्थापन र कौसी खेतीको प्रवद्र्धनसँगै समुदाय लक्षित उत्प्रेरणा तालिम डिजाइन गरेको छ। यसमा फोहोर व्यवस्थापनको थ्री आर, बिन कम्पोस्ट, गड्यौलाको प्रयोग गरी मल बनाउने प्रविधि, नकुहिने फोहोर व्यवस्थापन र कौसी खेती जस्ता विषय समेटिएको छ। उपत्यकाका नदी आसपासका धेरै व्यक्ति र सङ्घसंस्थाले यस्तो तालिम लिएका छन्। आयोजनाले यस्तै विषय केन्द्रित करिब ४० विद्यालयमा चेतनामूलक अभियान पनि चलाउने तयारी गरेको छ ।

कौसी खेती विज्ञ महर्जनको बुझाइमा तालिमका क्रममा स्थानीयको सहभागिता उत्साहजनक भए पनि खेतीकै रूपमा निरन्तरता दिनेहरू धेरै छैनन्। ‘कोरोना सङ्क्रमणपछि यो अभ्यास विस्तार बढिरहेको छ । घरको छत र खुला ठाउँ जति सदुपयोग हुनुपर्ने हो, त्यसो हुन सकेको छैन’, उनी भन्छन्, ‘कौसी खेतीले प्रतिफल दिन्छ भन्ने धेरैलाई थाहा छ तर मिहिनेत गर्नेहरू कम छन्।’

घरले भार थाम्न सक्दैन, छत चुहिन्छ, किरा फट्याङ्ग्रा नियन्त्रण र बोट, बिरुवाको फोहोर व्यवस्थापन गर्न झन्झट हुन्छ भन्ने भ्रमलाई चिर्न नसक्दा यो अवधारणा फराकिलो बन्न नसकेको महर्जनको ठहर छ। कौसी र बार्दलीकै लागि लक्षित प्लास्टिक ब्याग (ग्रो ब्याग), क्यारेट र गमलामा नरिवलको जटा (कोकोपिट)को प्रयोग, पानीको निकास भएका मझौला भाँडा वर्तनलाई बिम र पिलरको भागमा पर्ने गरी राख्दा घरलाई भार नपर्ने उनी बताउँछन्।

घरको फोहोर बोट, बिरुवालाई मल

शहरको फोहोरमैला व्यवस्थापनको समाधान कुहिने फोहोर नै हो। काठमाडौं महानगरपालिकाको अध्ययनअनुसार काठमाडौंसहित अधिकांश नगरमा ७० प्रतिशत हाराहारी जैविक फोहोर निस्कन्छ । घर र भान्साबाट निस्कने जैविक फोहोरलाई झोल र ठोस मल बनाएर बोट, बिरुवामा प्रयोग गर्न सकिन्छ।

कुहिने फोहोर, सागपात र अन्य वस्तुमार्फत गँड्यौले र कम्पोस्ट मल बनाउन सकिन्छ। गिटी मल, पिसाब वा जैविक विषादीको प्रयोग गर्दा खुम्ले किरा, कमिला, लाई र अन्य किरालाई नियन्त्रण गर्न सकिने कृषकहरूको अनुभव छ।

वनमारा, तितेपाती, टिमुर, गहुँत, पिना, अदुवा, खुर्सानीलगायत सामग्री मिश्रण गरेर तयार हुने जैविक विषादीले धेरै थरी किरा र रोग नियन्त्रण हुने सिनामङ्गलकी गौतमले बताइन्। ‘जाँगर चलाउन सक्नुपर्छ, सबै समाधान घरमै सम्भव हुन्छ’, कौसी खेतीबारेकी प्रशिक्षकसमेत रहेकी उनले सुनाइन्। प्रशिक्षकका रूपमा भक्तपुर, पाटन, कीर्तिपुर, सुन्दरीजललगायत भेगमा पुग्ने उनी यस्तै क्रियाकलापका लागि वडा कार्यालयले नियमित निम्ता गर्ने पात्र हुन् ।

सङ्घीय अभ्यासपछि विगतमा सङ्घ मातहतका शिक्षा, जनस्वास्थ्य, कृषिलगायतका विभाग अहिले स्थानीय तहमा गाभिएका छन् । कृषिसँग सरोकार राख्ने प्रदेशका कार्यालयको क्षेत्राधिकार पनि शहरी कृषि र हरियाली प्रवर्द्धनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएको छ। तर, उपभोक्ताले प्रत्यक्ष लाभ लिने गरी क्रियाकलाप अझै विस्तार हुन सकेका छैनन् । बजेट र क्षेत्राधिकार भए पनि नगर र प्रदेश कार्यालयहरू यस्ता विषयमा अलमलिएका विज्ञहरूको आरोप छ।

उपत्यकाका अधिकांश नगरपालिकाले शहरी कृषिका लागि आंशिक रूपमा बजेट छुट्याउन थाले पनि केही दिनको तालिम, सामग्री र मल वितरणले मात्र कार्यक्रम दिगो र उत्साहजनक नहुने वातावरणविद् प्रकाश अमात्यको ठहर छ। कौसी खेती र शहरी क्षेत्रको हरियाली प्रवर्द्धन केही दिनको लहर मात्र बन्न नहुने बताउँदै उनी भन्छन्, ‘कौसी खेतीले खाद्य सुरक्षामा ठूलो योगदान दिन सक्छ, प्रदूषण नियन्त्रण र ग्लोबल वार्मिङको असरलाई न्यूनीकरण गर्न सकिन्छ।’

अकाशे पानीको भण्डारण र पुनः प्रयोगले ठूलो प्रतिफल प्राविधिकसहितको अनुगमन हुँदा उपभोक्ता उत्साही बन्ने र कौसी खेती केही दिनको रहरमा सीमित नगर्न नगरपालिकाका कृषि कार्यालयहरू क्रियाशील बन्नुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्