साउदीमा २८ नेपाली अलपत्र



काठमाडौं । रोजगारीको क्रममा साउदी अरब पुगेका नेपालीहरू अलपत्र परेका छन् । कम्पनीले तोकेको काम नदिएपछि १६ जुलाई अर्थात् ३२ असारमा साउदी पुगेका २८ जनाको समूहलाई बन्धक बनाएर अलपत्र पारिएको छ । मेनपावरसँग राम्रो काम र पारिश्रमिकको सम्झौता गरेर २ महिनाअघि साउदी पुगेका उनीहरूले तोकिएको कामसँगै तलब र सुविधा त पाएनन् नै, कम्पनीसम्म पुग्नसमेत पाएका छैनन् ।

अर्थ स्मार्ट ह्युमन रिसोर्स नेपाल प्रा.लि. मेनपावरले उनीहरूलाई अल्क्युमाम नामको कम्पनीमा पठाएको थियो । कम्पनीले उनीहरू सबैको राहदानी राखेर अलपत्र पारेको पीडितहरूले बताएका छन् । राम्रो कमाइ हुने आसले साउदी गएका उनीहरू अहिले घर फर्कन चाहे पनि फर्कन पाइरहेका छैनन् । उनीहरूलाई एन नदिम रियादस्थित एक भवनको २ वटा कोठामा बन्धक बनाएर राखिएको छ । उनीहरू त्यहाँबाट छुटकारा पाउन चाहन्छन् ।

तर, उनीहरूलाई साउदी पठाउने मेनपावर मौन बस्नाले न काम पाएका छन्, न त आफ्नो देश नेपाल नै फर्कन पाएका छन् । उनीहरूलाई साउदी पठाउने व्यक्ति हुन् कमल दर्लामी मगर । तर, उनी पीडितहरूसँगको सम्पर्कमा रहे पनि उद्धार गर्न आनाकानी गरिरहेका छन् । यस विषयमा दर्लामीसँग बुझ्दा आफ्नै मान्छेहरू समेत त्यसरी नै फसेको गुनासो गरे । ‘मैले आफ्नो मेनपावरबाट नभई अन्य मेनपावरबाट आफ्नो आफन्तहरू समेत हालेको थिएँ । अहिले उनीहरू समेत काम नपाएर अलपत्र परेका छन् । उनीहरूको विषयमा छिट्टै समस्या समाधान हुन्छ ।’

अर्थ स्मार्ट ह्युमन रिसोर्स नेपालका डाइरेक्टर आफैँ त्यही समस्या समाधानका लागि साउदी जान लागेको दर्लामीले बताए । ‘आउँदो ११ तारिखमा अर्थ स्मार्टका डाइरेक्टर सुरेशकुमार महतो साउदी जान लागेका छन्’, उनले भने । ‘हाम्रो सम्पर्कबाट साउदी गएका २८ जनाको उचित व्यवस्थापन हुन्छ । काम नपाए पनि उनीहरूलाई गएदेखिको तलब र सेवा, सुविधा मिलाइदिने विषयमा अर्थ स्मार्टका डाइरेक्टरसँग मेरो पनि कुरा भइरहेको छ’, उनले भने, ‘११ तारिखपछि पनि उनीहरूको समस्या समाधान भएन भने म आफैँ मिडियाको सहयोग लिनेछु ।’

उनै दर्लामीलाई साउदी जाँदा उनीहरूले प्रतिव्यक्ति १ लाख ३० हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म बुझाएका थिए । २ महिनादेख काम नपाएपछि अलपत्र परेका उनीहरू नेपाल फर्कन चाहे पनि साउदी पठाउने मेनपावरले समेत कुनै वास्ता नगरेको पीडितहरूको गुनासो छ ।

बन्द कोठामा बन्धक बनाइएका उनीहरूलाई सातामा ५० रियाल खाना खानका लागि भनेर दिने गरेको एक पीडितले द नेपाटपसँग गुनासो गरे । ‘एकदम दुःखले खानाको व्यवस्था गर्नुपरेको छ । नेपालबाट लिएर आएको पैसासमेत सकियो’, ती पीडितले भने ।

उक्त मेनपावरले होटलमा काम गर्ने भनेर उनीहरूलाई साउदी पठाएको थियो । अहिलेसम्म कम्पनीको आधिकारिक मान्छेसँग समेत उनीहरूको भेट भएको छैन । त्यति मात्र होइन, उनीहरूमाथि कुटपिटसमेत हुने गरेको छ ।
‘हामी बसेको कोठामा आएर एक जना मुदिरले कुटपिटसमेत गर्ने गरेको छ’, एक पीडित भन्छन्, ‘यस्तो कष्टकर जीवन बिताउनुपरेको छ यहाँ । तर, कसरी कति समय यहाँ बस्ने ? जतिसक्दो सम्बन्धित निकायले हामीलाई यहाँबाट निकाल्ने पहल गरिदिए हुन्थ्यो ।’

कोको परे अलपत्र ?

अलपत्र पर्नेमा सङ्खुवासभाका सुजन भण्डारी, प्रदीप थापा, सुवास अधिकारी, सागर राई, सुमन विक, झापाका दीपक बोमन तामाङ, युवराज धिमाल, सुरज दाहाल, पाँचथरका विनोद आङ्बो, खोल्से शर्मा, लमजुङका आशिककुमार तामाङ, सुर्खेतका टोपबहादुर बुढा छन् ।

त्यसैगरी खोटाङका मनकुमार राई, तेह्रथुमका पर्वत नेपाली, मोरङका सुन्दर लिम्बू, अमृत लिम्बू, गोरखाका राजन आले, धादिङका लोकबहादुर गुरुङ, सुनसरीका पर्वत लिम्बू, उदयपुरका नुकेश विक, रौतहटका राजेश चौधरी, इलामका गङ्गाप्रसाद रानामगर पनि अलपत्र परेका छन् ।

यस्तै, इलामकै सुवास राई, इटहरीका वसन्त कोइराला, सिन्धुलीका कान्छामान घिसिङ, ओखलढुङ्गाका पासाङ शेर्पा, सिन्धुलीका ब्रिसबहादुर मोक्तान र सङ्खुवासभाका सचिन जीमी पनि यही समूहमा छन् । उनीहरू एकै दिन अर्थात् १६ जुलाईमा एउटै फ्लाइटमा साउदी गएका हुन् ।

समस्या समाधान हुन्छ : मेनपावर

आउँदो ११ सेप्टेम्बरमा मेनपावरका डाइरेक्टर महतो साउदी गएर पीडितहरूको समस्या समाधान गर्ने पक्षमा छन् । उनीहरूकै समस्या समाधानका लागि आफू साउदी जान लागेको डाइरेक्टर महतोले द नेपालटपसँगको कुराकानीमा भने ।

उनीहरूलाई होटल लाइनमा पठाएको बताउँदै महतोले भने, ‘होटलको कार्ड बन्न समय लागेकाले यस्तो समस्या आएको हो । आजभोलिमा उनीहरूको होटलको कार्ड बन्नेछ । त्यसपछि उनीहरू काममा जान पाउनेछन् ।’

यदि कार्ड नभएर काम नपाएकाहरूलाई नेपाल फर्काउने उनले बताए । ‘विधि पुर्‍याएर उनीहरू जाँदा लागेको रकमसहित फिर्ता गरेर नेपाल फर्काउनेछौँ । यसमा अन्यथा लिनुपर्ने केही छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्