एआईजी बढुवाको तयारी, आईजीको अग्निपरीक्षा !



काठमाडौं । बुधबार मध्यरातिदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज प्रमुख रहेका मुकुुन्दकुमार आचार्यले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका छन्। आचार्यको प्रहरी प्रधान कार्यालयले समेत एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ।

उनको अवकाशसँगै नेपाल प्रहरीका २ एआईजी पद रिक्त भएको छ। आचार्यअघि २० साउनमा विश्वराज पोखरेलले उमेर हदकै कारण अवकाश पाएका थिए । पोखरेलको अवकाशसँगै यसअघि एक पद रिक्त थियो। तर, रिक्त एआईजी पदमा बढुवा प्रक्रिया अघि बढेको थिएन । सोही रिक्त दरबन्दीको पदपूर्ति गर्ने तयारी सरकारले गरेको छ।

रिक्त १ पदमा १ जनालाई मात्र बढुवा गर्दा विवाद हुने भएकाले आचार्यको अवकाशपछि एआईजी बढुवा प्रक्रिया अघि बढ्ने सम्भावना छ। अब रिक्त एआईजी पदमा २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा हुनेछन्।

एआईजीका लागि ३ टोली प्रतिस्पर्धामा रहेका छन् । हालका प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहका ब्याची, ५ चैत २०५१ सालको टोली र १९ भदौ २०५२ सालमा प्रहरीमा भर्ना भएको टोली एआईजी बढुवाका लागि दौडमा रहेका छन् ।

३ टोलीका क–कसलाई बढुवा गर्ने भन्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र आईजी सिंहले भित्रभित्रै आन्तरिक तयारी गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाको अगाडि गृहमन्त्री र आईजी सिंह निरीह हुनुपर्ने अवस्था पनि आउन सक्छ।

आईजी सिंह आफ्नै ब्याचीहरूलाई बढुवा गर्ने पक्षमा छन्। त्यस्तै गृहमन्त्री खाणसमेत आईजी सिंहकै ब्याचबाट बाँकी रहेका डीआईजीत्रय नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँलाई एआईजी बनाउनुपर्ने पक्षमा रहेको स्रोतले बतायो।

उनीहरू डीआईजीको वरीयतामा समेत अगाडि छन्– उपाध्याय पहिलो नम्बरमा, आचार्य दोस्रो नम्बरमा र खाँ तेस्रो । प्रदेश प्रमुखको जिम्मेवारी पाएका तीनै जना अहिलेको सरकार निकट रहेका छन् ।

त्यसैले पनि उनीहरूको सम्भावना प्रबल रहेको गृह स्रोत बताउँछ । तर, प्रधानमन्त्री देउवा आईजी सिंहका ब्याचीहरूलाई छुटाएर २०५१ सालमा भर्ना भएका टोलीमध्येका डीआईजीद्धय वसन्तबहादुर कुँवर, टेकप्रसाद राई र अशोक सिंहमध्ये २ जनालाई एआईजीमा बढुवा गर्ने पक्षमा रहेका बालुवाटार स्रोतको दाबी छ।

वरीयताका आधारमा आफ्नो ब्याचमा कुँवर पहिलो नम्बरमा रहेका छन् भने सिंह तेस्रो नम्बरमा । दोस्रोमा टेकप्रसाद राई, चौथोमा दीपक थापा, पाँचौँमा श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरीलगायत छन् । उनीहरू सबै एआईजीका स्वाभाविक दाबेदार हुन्।
चौथो नम्बरमा डीआईजी भएका थापा सबैभन्दा कान्छो टोलीका हुन् । तर, उनी अहिलेको एआईजी बढुवामा समेत पर्न सक्ने सम्भावना रहेको छ। सरकारनिटक रहेका थापालाई हालका आईजी सिंहले समेत समर्थन गरेका छन् । तर, प्रधानमन्त्री देउवा सिंहलाई १ नम्बरमा, राई र कुँवरमध्ये १ जनालाई दोस्रो नम्बरमा राखेर एआईजीमा बढुवा गर्न चाहेका छन्।

हालका आईजी सिंहपछि आईजी हुने भएकाले प्रधानमन्त्री देउवाले आफू निकट डीआईजीलाई एआईजी बनाउन खोजेका हुन् । तर, आउँदै गरेको निर्वाचनमा असर पर्न सक्ने डरले पनि प्रधानमन्त्री देउवा निर्वाचनमा हार बेहोर्ने कुनै कदम चाल्न चाहँदैनन् । त्यस कारण पनि देउवाले समेत आईजी सिंहकै ब्याचीलाई एआईजी बनाउन सक्ने बालुवाटार स्रोतले बतायो ।

भावी आईजीको दौडमा रहेका अधिकृतहरू आफैँले पनि अहिलेको बढुवामा त्यति रुचि देखाएका छैनन् । निर्वाचनको परिणामपछि हुने बढुवा उनीहरूको रोजाइमा रहेको एक सिनियर प्रहरी अधकृतले जानकारी दिए ।

२५ कात्तिकपछि सिंह र कुँवर ‘कन्फर्म’

१५ कात्तिकमा एआईजी अरुणकुमार बीसी र २५ कात्तिकदेखि एआईजी रवीन्द्रबहादुर धानुुक अनिवार्य अवकाशमा जानेछन्। अहिले आईजीकै ब्याचीहरू बढुवा भए पनि त्यसपछि रिक्त रहेका २ पदमा सिंह र कुँवर नछुट्ने ‘कन्फर्म’ जस्तै छ।

यतिबेला सरकार निर्वाचनको मुखमा निर्वाचन आयोगको सहमति लिएर रिक्त पदमा बढुवाको पक्षमा छ। अहिले आईजी सिंहका ब्याचीहरू रहेका उपाध्याय, आचार्य र खाँमध्ये २ जनालाई एआईजीमा बढुवा गरेर निर्वाचन गराउने र त्यसपछि मात्र नयाँ ब्याचको बढुवा गर्ने पक्षमा समेत देउवा रहेको बुझिएको छ।

निर्वाचनपछि सिंह र कुँवर एआईजीमा बढुवा भएको अवस्थामा हालका आईजी सिंहपछि उनीहरू स्वतः नेतृत्वका दाबेदार हुनेछन् । हालका आईजीपछि पनि सिंह नेतृत्वको दाबेदार हुने भएपछि प्रधानमन्त्री देउवाले अहिलेको बढुवामा उपाध्याय, आचार्य र खाँमध्ये २ जनालाई नै बढुवा गर्दा राम्रो हुने बुझेका छन्।

२२ असोजमा नयाँ कार्यसम्पादन मूल्याङ्कनअनुसार पर्खेर बढुवा गर्ने कि रिक्त हुने २ पदमा तत्काल पुरानै कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । यो विषय सम्भवतः हालका आईजी सिंह विदेशबाट फर्केपछि टुङ्गिनेछ।

आईजी सिंहको ‘अग्निपरीक्षा’

१९ वैशाखमा आईजीपीमा नियुक्त भएका आईजी सिंह व्यावसायिक प्रहरी अधिकारीका रूपमा चिनिँदै आएका छन् । त्यस कारण आईजी सिंहको भूमिका एआईजी बढुुवामा के हुन्छ ? भन्ने चासो बढेको छ।

आईजीपी सिंहकै ब्याचीहरू उपाध्याय, आचार्य र खाँ बढुवामा छुटेर उनीहरूभन्दा जुनियर टोलीका अधिकृत बढुवा भए प्रहरीभित्रको चेनअफ कमाण्डमा असर पर्ने कतिपय प्रहरी अधिकारीको बुझाइ छ।

‘आईजी सिंहले अहिलेको बढुवामा कतिको व्यावसायिक छवि देखाउन सक्नुहुन्छ, एआईजी बढुवा निस्केपछि उहाँको आजसम्म गरेको कामको मूल्याङ्कन पनि देखाउँछ’, एक उच्च प्रहरी अधिकृतले भने।

एआईजी बढुवामा समितिमा प्रहरी नियमावली, २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्