जसपा अध्यक्ष यादव भन्छन् : ३२ सिट नपाए गठबन्धन गर्दैनौँ



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ३२ सिट नपाए गठबन्धन नगर्ने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने यादवको भनाई छ । सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने यादवले बताए ।

अध्यक्ष यादवले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग मागेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिएका छन् ।

सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने यादवले बताए । साथै यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

अपमानजनक सिट बाँडफाँटमा आफ्नो पार्टी सहभागी नहुने उनको भनाइ थियो । आफ्नो पार्टीको दाबी प्रत्यक्ष संघीय सिटमा ३२ रहेको र त्यसभन्दा घटेर गठबन्धनमा बाँडफाँट गर्न नसकिने पनि उनले प्रष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्