भारतीय सेनाध्यक्ष जनरल पाण्डेको नेपाल भ्रमण सम्पन्न



काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेको ५ दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका थिए।

नेपाल रहँदा जनरल पाण्डेले २०७९ भाद्र २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे । त्यहाँ उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मान गरे। जनरल पाण्डेकी धर्मपत्नी श्रीमती अर्चना पाण्डेले पनि सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरिन् ।

कार्यक्रममा जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको मुक्तकण्ठले प्रशंसा गरे । सोही दिन बिहान उनले नेपाली सेनाको पोखरामा अवस्थित मध्ये कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया गरे ।

सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई ३ वटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरे । यी एम्बुलेन्सले नेपालमा रहेका ३ लाखभन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्‍याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुनेछ ।

जनरल पाण्डेलाई गत सोमबार नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिन् । नेपाली समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले नेपालका राष्ट्रपति र प्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री शेर बहादुर देउवासँग पनि भेटवार्ता गरे ।

नेपाल बसाईका दौरान उनले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरे। २ देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायतका तालिम उपकरण प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्