निर्माण भएको ४ वर्ष बित्दासमेत प्रसुती गृह सञ्चालन नहुँदा महिलालाई सास्ती



रौतहट । रौतहटको रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निमार्ण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मार्कामा परेका छन् ।

रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट बेहोर्दै अन्यत्र जानुपर्ने बाध्यता भएको हो । नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धित हक प्रदान गरेको
छ । 

मातृत्व र प्रजनन स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय , सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु राज्यको दायित्व पनि हो । तरपनि गाउँगाउँमा प्रसुती गृह नहुँदा महिलाहरूले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम सिर्जना भएको स्थानीहरू बताउँछन् ।

महिलाहरूलाई सहज र सुरक्षित सुत्केरी गराउने उद्देश्यले दातृ संस्थाको सहयोगमा निर्माण गरिएको प्रसुती गृह सञ्चालनमा नआउनुले स्थानीयवासीहरू ज्यानको जोखिम मोल्न बाध्य छन् । 

नेपाल सरकार र बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम ९सिडिपी० को तर्फबाट ३३ लाख ७७ हजार ६१६, गुजरा नगरपालिकाको तर्फबाट ५ लाख ४ हजार २ सय र स्थानीयको २ लाख १४ हजार ८६४ गरी जम्मा ४० लाख ९६ हजार ६८० को लागतमा सो प्रसुती गृह निमार्ण भएको थियो । 

एकतले तीन कोठे प्रसुती गृह वि.सं. २०७४ चैत्रमा निर्माण शुरु भइ २०७५ असोजमा निर्माण सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएको ४ वर्ष पुग्न लागिसक्दा पनि प्रसुती गृह सञ्चालन नहुँदा त्यहाँ महिलाहरू सुत्केरी गराउन जोखिम मोलेर चन्द्रपुर, वीरगञ्ज, भरतपुर जानुपर्ने बाध्यता रहेको स्थानीयरहेको गुनासो छ ।  

अनमी राधाकुमारी भट्टराईले निर्माण भइसक्दा समेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो गरेकी छन् । उनले सञ्चालनमा आए महिलाहरूलाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताइन् । उनले अहिले प्रसुती गृह सञ्चालन नभएका कारण गर्भवतीको अवस्था हेरेर अन्यत्र पठाउने गरेको बताएकी छन् ।

राम्रो प्रसुती गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउन बाध्य स्थानहरू आफ्नै गाउँमा प्रसुती गृह बनेसँगै सो समस्याबाट मुक्ती पाउने आशामा थिए । प्रसुती गृहको स्थापनासँगै महँगो खर्च गरेर अन्य शहरका अस्पतालमा जानुपर्ने झन्झट र दुःखबाट छुट्कारा पाउने भन्दै दंग बनेका स्थानिय यतिखेर निराश छन् ।

जतिसक्दो चाँडो प्रसुती गृह सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । स्थानीय प्रशासनले चासो नदिँदा समस्या समाधान हुन नसकेको स्थानीय रुद्रकुमरी ढंगाना बताउँछिन् । उनले स्थानीय सरकारले चासो दिएर काम गर्ने हो भने सुत्केरी गराउन चितवन पुग्नुपर्ने बाध्यताको समाधान हुने र गाउँमा नै सहज तरिकाले महिलाले सेवा पाउने स्थानीय सुकामान मोक्तानले बताइन् ।

घरनजिकै प्रसुती गृह सञ्चालन भए राम्रो सुविधा पाउने आश भएपनि ४ वर्ष बित्दासमेत सञ्चालनमा नआउँदा निराश बनेको बताएकी छन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार प्रसुती गृह सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ ।

तर निमार्ण सम्पन्न भएको ४ वर्षसम्म प्रसुती गृहमा कम्पाउण्ड वाल, स्वास्थ्यकर्मी बस्ने क्वाटर लगायतका सुविधा नहुँदा सूचीकृतमा समस्या छ । प्रसुती सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुले चौबिसै घण्टा सेवा प्रदान गरिरहनुपर्ने र सो अनुसारको थप संरचना र सुविधा नभएकाले सूचीकृत हुन समस्या भएको जनस्वास्थ्य निरीक्षक भुपेन्द्र चौधरीले बताएका छन् ।

गुजरा नगरपालिकी उपप्रमुख रत्ना लामाले नगरपालिकाले केन्द्र सरकारसँग प्रसुती गृह सञ्चालनको लागि अवाश्यक बजेटको पहल गरिसकेकाले अब चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेकी छन् । उनले स्वास्थ्यचौकी व्यवस्थित नभएको कारण प्रसुती गृह सञ्चालनमा नल्याएको उल्लेख गरिन् ।

प्रसुती गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रुपमा कमजोर समुदायका महिलाहरुलाई परेको छ । टाढाको अस्पतालमा लैजाने एम्बुलेन्स खर्च, औषधि उपचार तथा खर्च व्यहोर्न ऋण खोज्नुपर्ने उनीहरुको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्