यही वर्ष बङ्गलादेशमा विद्युत निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल



चितवन । ऊर्जामन्त्री पम्फा भुसालले नेपालले बङ्गलादेशमा विद्युत निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् ।

शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसैवर्ष बङ्गलादेशलाई विद्युत निर्यात गरिने बताइन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत निर्यात गरेका छौँ। अब बङ्गलादेश पनि निर्यात हुँदैछ’, मन्त्री भुसालले भनिन्, ‘जलविद्युत उत्पादनमा साझेदारी गर्न सहमति भएको छ। यसै वर्षदेखि ५० मेगावाट विद्युत बङ्गलादेश जान्छ।’

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

फरक प्रसंगमा मन्त्री भुसालले गठबन्धनको सिटको विषय शनिबार बेलुकासम्म टुंगो लगाउने बताइन् । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख गर्दै उनले भनिन्, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुंगिन्छ ।

प्रतिक्रिया दिनुहोस्