२ वर्षपछि नेपाल-भारत सचिवस्तरीय वार्ता



काठमाडौं । नेपाल–भारतबीच विगतका सहमति÷सहकार्य कार्यान्वयन गर्न परराष्ट्र सचिवस्तरीय वार्ता हुँदै छ। परराष्ट्र सचिवले नेतृत्व गर्ने वार्तामा दुवै देशका सम्बन्धका सबै पक्षमा छलफल हुनेछ।

दुवै देशबीच २ वर्षपछि उच्च तहको औपचारिक वार्ता तय भएको हो। बैठकमा सहभागी हुन परराष्ट्र सचिव भरतराज पौडेल मङ्गलबार (२८ भदौ) दिल्ली जाँदै छन्। मङ्गलबार र बुधबार सचिव नेतृत्वको वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विगतमा दुवै देशबाट प्रधानमन्त्री तहको भ्रमणका क्रममा भएका सहमति, त्यसअघिका सहमति पुनरावलोकन गर्न बैठक केन्द्रित हुनेछ। व्यापार, पारवहन, कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार, लगानी, कृषि, संस्कृति, जनस्तरको सम्बन्ध, सुरक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।

सीमा समस्या र राजनीतिक मुद्दाबारेमा छलफल हुने÷नहुने टुङ्गो नभएको परराष्ट्र मन्त्रालय निकट स्रोतले जनाएको छ । भारतले अघि सारेको ‘अग्निपथ’ योजनाअन्र्तगत भारतीय सेनामा नेपाली गोर्खा सैनिकको भर्तीबारे छलफल हुन सक्ने परराष्ट्रका अधिकारीहरूको भनाइ छ ।

परराष्ट्र सचिव पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, परराष्ट्रबाट भारत डिभिजन नियाल्ने सहसचिव सुधीर भट्टराईलगायतका अधिकारी सहभागी हुनेछन् । भारतीय पक्षको नेतृत्व भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गर्नेछन् ।

परराष्ट्र सचिव पौडेलले नेतृत्व गर्ने यो पहिलो उच्चस्तरीय बैठक हुनेछ। बैठकले दुवैतर्फबाट भएका उच्चस्तरीय भ्रमण र विगतका सहमतिको समीक्षा गर्नेछ। संयुक्त राष्ट्रसङ्घ, अन्य क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा हुँदै आएको सहकार्यबारेमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवा चैत तेस्रो साता भारत भ्रमणमा गएका थिए। देउवाका भारतीय समकक्षी नरेन्द्र मोदीले गत २ जेठमा लुम्बिनीको भ्रमण गर्दा नेपाल–भारतबीच ऊर्जा सहकार्य भएको थियो।

यस्तो बैठक २ वर्षअघि २२ मङ्सिर २०७७ मा नेपालमा भएको थियो। तत्कालीन भारतीय विदेशमन्त्री एस जयशङ्कर र नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो बैठकको नेतृत्व गरेका थिए। त्यसबेला क्वात्रा नेपालका लागि भारतीय राजदूत रहेकाले उनी काठमाडौंमा भएको बैठकमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्