‘हेभी वेट’ भिडन्तको सम्भावना



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेल आउँदो ४ मङ्सिरमा हुने प्रतिनिधिसभा चुनावमा आमनेसामने हुने करिब–करिब पक्कापक्की जस्तै छ।

दाङ क्षेत्र नं.– २ मा एमाले जिल्ला तहबाट महासचिव पोखरेल एकल सिफारिस हुँदा माओवादी जिल्ला तहबाट उपाध्यक्ष महारासहित ३ जनाको नाम सङ्घतर्फ सिफारिस भएको छ। माओवादीबाट ३ जनाको सिफारिस भए पनि महरा उम्मेदवार हुने लगभग निश्चित मानिएको छ।

अघिल्लो निर्वाचनमा पोखरेल महराको प्रचारमा जुटेका थिए। अघिल्लो निर्वाचनमा प्राप्त जितलाई निरन्तरता दिने विश्वासमा रहेका महरालाई स्थानीय तहको निर्वाचनको प्राप्त जनमतले भने महरालाई झस्काएको छ।

त्यस्तै, महासचिव पोखरेललाई नै सिफारिस गरेपछि एमाले दाङले यो क्षेत्रलाई चुनावको प्रमुख केन्द्रका रूपमा हेरेको छ।घोराही उपमहानगरमा ५ दलीय गठबन्धन हुँदा पनि एमालेले जितेको थियो । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका पनि रहेका कारण एमालेले अनुमान गरेजस्तो सहज नहुन सक्छ।

स्थानीय तहको निर्वाचनमा हाबी भएको एमाले ४ मङ्सिरको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पल्ला भारी हुनेमा विश्वस्त छ। जिल्लाका २ हेभी वेट नेता आमनेसामने हुँदै गर्दा त्यहाँको चुनाव झनै रोचक हुने अनुमान छ।

त्यसो त तराईबासीको हक हितलाई मुख्य मुद्दा बनाउने गरेका उपेन्द्र यादव र डा. सीके राउत पनि एउटै निर्वाचन क्षेत्रमा उम्मेदवार हुने सम्भावना प्रबल छ। जनता समाजवादी पार्टीका अध्यक्ष यादव सप्तरी– २, बारा– २, मोरङ– ५ र पर्सा– ४ लगायत स्थानमा सिफारिस भएका छन् । गत निर्वाचनमा उनी सप्तरी– २ बाट निर्वाचित भएका हुन् । उनी अहिले यस क्षेत्रबाट एकल सिफारिस भएका छन्।

सीके राउत पनि त्यसै क्षेत्रबाट सिफारिस भएका छन् । त्यसै क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सिफारिस भएका छन् । तथापि, उनी त्यस क्षेत्रबाट उम्मेदवार हुने सम्भावना कमै रहेको जनाइन्छ ।

सुनसरी– ४ मा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार हुने लगभग निश्चित मानिएको छ। गत निर्वाचनमा उनले वाम गठबन्धनका बाबजुद जित हात पारेका कारण यस पटक कार्कीले सहजै सफलता पाउने कांग्रेसको दाबी छ।

एमालेले भने गत निर्वाचनमा कमजोर उम्मेदवार उठाएका कारण पराजित भएको बताउँदै यस पटक बलियो उम्मेदवार भएकाले आफ्नो दलले जित्ने दाबी गरेको छ। एमालेबाट पूर्वमन्त्री जगदीश कुसियतको नाम सिफारिस भएको छ। सुनसरी– १ मा एमालेका भीम आचार्य सिफारिस भएका छन्।

सो क्षेत्रमा आचार्यसँगै रेवतीरमण भण्डारीलगायतको नाम सिफारिस भए पनि आचार्यको सम्भावना बलियो मानिएको छ। कांग्रेसबाट पनि प्रदेश १ का संसदीय दलका नेता तथा केन्द्रीय सदस्य राजीव कोइरालासहितको नाम यस क्षेत्रबाट सिफारिस भएको छ।

गत निर्वाचनमा आचार्य र कोइराला दुवै प्रदेशसभा सदस्यमा निर्वाचित थिए। दुवै आफ्नो दलको संसदीय दलका नेता पनि हुन सफल भएका थिए। काठमाडौं– ५ मा गत निर्वाचनमा एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट डा. प्रकाशशरण महत उम्मेदवार भएका थिए।

यस पटक महत नुवाकोटबाट सिफारिस भएका छन्। तथापि, कांग्रेसका केन्द्रीय नेता प्रदीप पोडेलको पनि चर्चा चलेको छ।नुवाकोटमा डा. रामशरण महतको पनि नाम सिफारिस भएका कारण अन्त्यमा प्रकाशशरण पुरानै क्षेत्रमा उम्मेदवार हुन सक्ने सम्भावना पनि छ। यसो भएमा पोखरेल र महतको रोचक चुनावी भिडन्त हुन सक्नेछ।

रुपन्देही–२ मा कांग्रेसले गृहमन्त्री खाणसहित ३ जनाको नाम सिफारिस गरेको छ। त्यस क्षेत्रमा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको छ।

बालकृष्ण खाणको नाम रुपन्देही–३ बाट पनि सिफारिस भएको छ। त्यस क्षेत्रमा गत निर्वाचनमा एमाले उम्मेदवार घनश्याम भुसाल उम्मेदवार भएका थिए। अहिले पनि भुसाल त्यसै क्षेत्रमा उम्मेदवार हुने सम्भावना छ। खाण यस पटक पौडेल या भुसालसँग भिड्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस्