सोह्रौं अनशनको तयारीमा डा. केसी



काठमाडौं : सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् ।

सरकार उनीसँग गरेको सहमति कार्यान्वयनमा उदासीन भभपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लागेका हुन् ।

सरकारलाई आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे १६ औं अनशन बस्न बाध्य हुने चेतावनी दिँदै आएका डा. केसी सरकारले झुक्याएको भन्दै अनशन बस्ने तरखरमा रहेको उनी निकट चिकित्सकले नागरिकलाई बताए ।

सरकारले आफूसँग भएका सम्झौता उल्लंघन गरेको र माफियाका पक्षमा काम गरेको आरोप लगाउँदै आएका डा. केसीले सरकारको पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै फेरि अनशन बस्ने ‘मुड’ मा रहेको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिए ।

सिंहका अनुसार तिहार सकिएलगत्तै डा. केसीले आफू निकटस्थ र सहयोगीलाई बोलाएर अनशन बस्ने तयारीमा रहेको जनाएका थिए ।

उनले आफूहरूले पहिला संसद् बैठक छिटो राख्न दबाब दिने र सम्बन्धित निकायका पदाधिकारीलाई भेटेर सहमति कार्यान्वयनका लागि आग्रह गर्ने कुरा सुझाए पनि सरकारको विश्वास नभएको भन्दै डा. केसी अनशन बस्ने ‘मुड’ मा रहेको बताए ।

डा. केसी बुधबार पत्रकार सम्मेलन गरेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिनको अल्टिमेटन दिने र कसैलाई स्थान तथा समयको जानकारी नदिई गोप्य रुपमा अनशन सुरु गर्ने मनस्थितिमा छन् । 

सिंहका अनुसार डा. केसी शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भूमिकाप्रति असन्तुष्ट छन् । मन्त्री पोखरेलकै कारण आफूसँग भएको सम्झौता कार्यान्वयनमा आलटाल भएको डा। केसीको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्