ठूला पार्टीले सबै सिट लिन खोज्दा समस्या उत्पन्न भयो : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को ५ वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को ५ वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरूप नभएको बताएका हुन् ।

उनले केही नेताहरूको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको पनि बताए । अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसद्को ५ वर्षको कार्यकाल राम्रो नभएको जिकिर गरेका छन् ।

उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको बताए । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको उल्लेख गरेका छन् । 

उनले भने – ‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै पुअर । अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो  त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु । दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन । यो मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रूपान्तरणको आवश्यकता छ । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन । अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुपर्‍यो ।’

अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशत भन्दा बढी सिटमा सहमति भइसकेको बताएका छन् । उनले ठूला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्