मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने



भैरहवा । सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रुपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ।

२०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरु जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुवर्षीय योजनाबाट शौक्षिक भवन बन्न लागेको हो।

भौतिक संरचना र पूर्वाधारमा धेरै कमि रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुवर्षीय योजना सहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन्।

विधालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्प्नन संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ, लुम्बिनी प्रदेश योजना आयोग मार्फत् ३ वर्षीय योजना सहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमान सहित निर्माण कार्य अघि बढेको मन्त्री खानले भने।

भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सिमित स्रोत साधन शिक्षा दिनमा कठिनाई भएकोले बहुवर्षीय योजनामा विद्यालयमा बृहद भवन बनाउन लागेको उनले भने।

यस्ते सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्जवल रहेकोले यहाको शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै बृद्धि गर्नु पर्ने जरुरी रहेको बताए। प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवारमै रहेको बताउदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुण्स्तरका लागि सिस्टम नै परिवर्तन गर्नु पर्ने बताए।

योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अनितम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमान सहित निर्माण कामको थालनी गरेको छ।

प्रतिक्रिया दिनुहोस्