मूलधारविरुद्ध एकत्रित हुँदै ‘फरक धार’



काठमाडौं । गत स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले जित हात पारेपछि यसको असर काठमाडौंको राजनीतिमा देखिन थालेको छ। ‘इनफ इज इनफ’ आन्दोलनका अगुवा पुकार बम काठमाडौं– १ मा उम्मेदवारी घोषणा गरेपछि उनलाई प्रमुख साहले पहिलो शुभकामना दिएका थिए ।

तिनै बम अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन्। यो पार्टी प्रवेशको मतलब हो–लामिछाने र प्रमुख शाहका साझा उम्मेदवारको रूपमा बम चुनावमा होमिँदै छन्। बमको स्वतन्त्र पार्टी प्रवेशपछि त्यस क्षेत्रको निर्वाचनमा त्रिपक्षीय भिडन्तको सम्भावना बढेको छ। विवेकशील साझा पार्टीका एक नेता बताउँछन्, ‘रवीन्द्रजी राप्रपा प्रवेश गरेर एमालेको गठबन्धनमा उठ्ने सम्भावना छ ।’ त्यसो भएमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबीच काठमाडौं– १ मा प्रतिस्पर्धा हुन सक्नेछ ।

मिश्रसँगै केही व्यक्ति विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गर्दै छन् । ‘यसको असर काठमाडौं– १ मा हजार मतको असर हुने छ’, एमालेको मत पनि थोरै भएका कारण त्यस क्षेत्रमा मिश्रको उपस्थिति कमजोर हुने विवेकशील साझाका ती नेताको भनाइ छ। अहिले महानगरपालिका नेतृत्वको लोकप्रिय छवि भएका कारण यसले आसन्न निर्वाचनमा पनि मूलधारबाहेकका उम्मेदवारका लागि सकारात्मक असर गर्ने अनुमान गरिएको छ।

नागरिक स्वतन्त्र पार्टी, प्रमुख बालेन, विवेकशील साझा पार्टी र प्रमुखका प्रत्यासी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानका नेता सुमन सायमीबीच समझदारी बन्न सक्नेछ । मूलधारको राजनीतिको विकल्प चाहने नागरिक अगुवाहरूसमेत यस अभियानमा सरिक छन्। अभियानले देशभर नै उम्मेदवारी तोक्न सुरु गरेको छ।

रुपन्देही–१ मा विशाल बाँस्कोटा, रुपन्देही– २ मा निकोलस भुसाल, रुपन्देही– ३ मा प्रख्यात बन्जाडे र रुपन्देही– ५ मा भीष्म रानालाई उम्मेदवार तोकेको छ। कपिलवस्तु– १ मा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसी उम्मेदवार बन्ने भएका छन् । यसअघि नै सो अभियानले ललितपुर– १ मा सचिन घिमिरेलाई उम्मेदवार तोकेको छ।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक रमेश खरेलको नेतृत्वमा रहेको नागरिक सुशासन पार्टीसँग पनि समझदारी कायम गर्ने तयारी अभियानले गरेको छ। नागरिक सुशासन, राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा र लौरो अभियानको चासो गठबन्धनले काठमाडौं–३ मा उठाउने उम्मेदवारका बारे पनि छ।

सो निर्वाचन क्षेत्रमा यसअघि नै रवि लामिछानेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कुलमान घिसिङलाई उम्मेदवार बनाउने सङ्केत दिइसकेका छन्। त्यसो भएमा यो समझदारीमा केही हेरफेर पनि हुन सक्नेछ।

यसैगरी काठमाडौं– ५ मा अभियानले रञ्जु दर्शनालाई उम्मेदवार तोकेको छ। त्यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो। काठमाडौं–९ मा विद्या श्रेष्ठलाई अभियानले बलियो उम्मेदवारको रूपमा हेरेको छ। विद्या स्थानीय तहको चुनावमा महानगरको उपप्रमुखमा उम्मेदवार भएकी थिइन्।

प्रधानमन्त्री देउवालाई आराम दिने भन्दै डडेल्धुरामा पुगेका इन्जिनियर सागर ढकाल त्यहाँको मानिसको दुःख देख्दा आफैँलाई अत्यास लागेको बताउँछन् । सागर अहिले डडेल्धुरामा मत माग्न व्यस्त छन्।

देउवा मात्र होइन, त्यस अभियानले मुख्य नेतालाई निशाना बनाउन थालेको छ । झापा–५ मा कलाकार कुमार कटुवालको उम्मेदवारीको चर्चा चलेको छ । कटुवाल भने यो छलफलको विषय भए पनि निश्चित गरी नसकेको बताउँछन्। स्थानीय तहको निर्वाचनमा कटुवाल र उनी निकट हास्य कलाकार अर्जुन घिमिरे शाहको पक्षमा खुलेर मत माग्न व्यस्त थिए।

‘म मूलधार र फरक धार भन्दा पनि भिजनरी नेताको आवश्यकता महसुस गर्छु’, कुमारले भने। स्थानीय तहको चुनावमा बालेनको चुनावी अभियानमा सरिक अर्जुन भने आगामी निर्वाचनमा पनि स्वतन्त्रमध्ये राम्रो उम्मेदवारलाई साथ रहने बताउँछन्।

अहिले देशभर चुनावी कार्यक्रम सकेका यी सबै नेता समानुपातिकको बन्द सूची तयार पर्न व्यस्त छन् । समानुपातिकको बन्द सूची तयार पर्ने क्रममै वार्ता पनि जारी नै छ।

यस अभियानले आसन्न निर्वाचनमा काठमाडौं महानगर प्रमुखशाहसहित देशमा कलाकार, सेलिब्रेटी र अन्य विभिन्न विषयका विज्ञहरूलाई उम्मेदवार बनाउने तथा निर्वाचन अभियानमा सरिक बनाउने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्