२०७४ को बन्दसूची आज रातिदेखि स्वतः निष्क्रिय



काठमाडौं । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कुल मतदाता सङ्ख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ।निर्वाचन आयोगले शुक्रबार कुल मतदाताको सङ्ख्या सार्वजनिक गरेको हो।

आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य छन्। सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं छन् भने सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका आयोगले जनाएको छ।

१९ साउन २०७९ भित्र मतदाता नामावलीमा नाम दर्ता गरी ३ मङ्सिरसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरूको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोजकले जनाएको छ। गत स्थानीय चुनावको तुलनामा २ लाख ५४ हजार ८४७ मतदाता बढेका छन्।

करिब ११ हजार मतदान स्थल

यसैगरी मतदाता सङ्ख्यासमेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरू रहने गरी मतदान केन्द्र स्वीकृत गरेको छ । प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा छन्।

मधेस प्रदेशमा ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ। यस्तै, बाग्मतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

आजदेखि बन्द सूची निष्क्रिय

यसैबीच २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि राजनीतिक दलले पेस गरेको उम्मेदवारको बन्द सूची शनिबार राति १२ बजेदेखि कायम नरहने भएको छ। २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्द सूची १ असोज राति १२ बजेदेखि स्वतः कायम नरहने आयोगले जनाएको छ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको २८ भदौको पत्र तथा २९ भदौको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्