ओलीको आरोप : गठबन्धनले देशलाई ओरालोतिर लग्यो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्। शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको आलोचना गरेका हुन्।

अध्यक्ष ओलीले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए। अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने दाबी गरे। उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए।

उनले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताए। उनले लोकतन्त्रका पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताका पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रहसमेत गरे।

‘अब हामी देशलाई अहिलेको जस्तो अप्ठ्यारो स्थितिबाट ओरालो लागेको स्थितिबाट, देशलाई गठबन्धनले ओरालोतिर लगिरहेको छ। यस ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने माथि चढाउने, राजनीतिक हिसाबले, लोकतन्त्रको अभ्यासको हिसाबले संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुव्यवस्थाको हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले, सुशासनका हिसाबले, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढंगले अघि बढ्नेछौँ। प्रभावकारी ढंगले अघि बढ्नेछौँ’, ओलीले भने, ‘यसको फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशहरुको, सातै प्रदेशको निर्वाचन भइरहेको छ। यतिबेला देशलाई हार्न दिनु हुँदैन, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ। लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह गर्दछु।’

अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए। संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो। पदयात्रा बिहान ७ बजेदेखि काठमाडौं उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्