पेसागत वर्गको दुरवस्थाबाट गुज्रिएको समाज र सिर्जित समस्या



  • श्यामप्रसाद मैनाली

काठमाडौं । देशभित्र विभिन्न क्षेत्रमा आबद्ध हुनेलाई जनताले प्रायः मन पराइरहेका छैनन्। समाजमा सफेद पोसाकमा देखिँदै आफूलाई भद्रभलाद्मी र समाजका लागि केही गरिरहेको दाबी गर्नेहरू जनताका नजरमा बद्नाम छन्।

यो बद्नामीका सम्बन्धमा गहिरो छाप परिसकेको छ। त्यसैले यिनीहरू छिट्टै सकारात्मक प्रभाव पार्न सक्ने अवस्थामा देखिँदैनन्। सबै क्षेत्रमा व्यक्तिवाद, नातावाद, कृपावाद, दलीय स्वार्थ, भ्रष्टाचार, कालोबजारी, तस्करी व्याप्त छ।

यही अनुभूति जनताले राम्ररी गरेका छन् । यी सबै कारण देश गरिबीको दुष्चक्रमा नराम्ररी फसेको छ। थोरै टाठाबाठाहरूमा स्रोत, साधन सङ्ग्रह भइरहेको छ । यसबाट देशले मुक्ति पाइहाल्ने सम्भावना देख्न सक्ने अवस्था नहुँदा सबैमा निराशा छाएको छ।

आखिर कुनकुन समूह हुनत देशलाई यस्तो दुरवस्थामा पुर्‍याउने ? प्रश्न उठ्नु स्वाभाविकै हो । राजनीतिले देशलाई अघि बढाउने र पछि धकेल्ने दुवै काम गर्छ । त्यसैले कस्तो छ त नेपालको राजनीति र त्यसका कलाकारहरू ? छलफल यसैबाट प्रारम्भ गरौँ ।

नेपालमा यथार्थमा राजनीति भूमिगत शक्तिबाट सञ्चालित छ। जो राजनीतिमा लागेर व्यक्तिगत तरक्की गर्न सफल भएका छन्, उनीहरू आफ्नो बलबुता र नेपाली जनताको विश्वास एवं समर्थनमा राजनीति गर्ने सामथ्र्य देख्दैनन्। राजनीति देशभन्दा अन्यत्रबाटै सञ्चालित छ। जनताभन्दा भूमिगत अदृश्य शक्तिको समर्थनमा नेपालका धेरै व्यक्तिहरूले राजनीतिलाई कमाइ खाने भाँडो बनाएका छन् ।

त्यसैले जनताको आलोचनाको खासै महत्व यी राजनीतिज्ञहरूलाई हुँदैन। उनीहरू जनतालाई गौण मान्दै जनतामाथि चरम शोषण गरिरहेका छन्। राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग गर्छन्। भ्रष्टाचारलाई संस्थागत रूप दिन तत्पर छन्। प्राडो, पजेरो प्रकरणदेखि लिएर पुरुष सांसदहरूलाई सुत्केरी हुँदा खाने औषधिको सुविधासमेत दिन तत्परता देखाइरहेका छन्।

जो स्वच्छ छविका देखिएका छन्, उनीहरूका आसेपासे भ्रष्टाचारमा लिप्त भएकामा मूक दर्शक बनेका छन्। उनीहरूलाई हिजो २ रङको चप्पलको फित्ता लगाउनेहरू रातारात नवधनाढ्यका रूपमा रूपान्तरित भइराखेको दृश्य हेर्न बाध्य मात्र होइन, यिनै भ्रष्टहरूको आदर्श र उपदेश सुन्न विवश बनाइरहेको अवस्था छ।

देश अराजक अवस्थामा धकेलिँदै छ। अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई विश्वका भ्रष्ट राज्यहरूको सूचीमा राखेको अवस्था छ। तस्करी र भ्रष्टाचार नेपालको राजनीतिले नियन्त्रण गर्न सकेन । सरकारको नेतृत्वमा रहनेहरू नै तस्करी र भ्रष्टाचारमा घनिष्ठ रूपले सम्बन्धित रहेको आक्षेप लाग्दै छ।

तर, हाम्रो राजनीति, राजनीतिज्ञहरू र सरकारमा रहनेहरू सबै उनीहरूको मूल्याङ्कन जनताले कसरी गरिरहेका छन् । त्यसको लेखाजोखा गर्न आवश्यक देख्दैनन्। जनता अवाक् छन्। उनीहरू आफ्नै तथाकथित जनप्रतिनिधिहरूलाई स्वार्थी व्यक्तिहरूको झुण्ड र भ्रष्टका रूपमा चित्रण गरिराखेका छन्।

यिनै भ्रष्टहरूबाटै आफ्ना प्रतिनिधि आवधिक निर्वाचनमा चयन गरिरहनुपर्ने अवस्था नेपालका आमनागरिकको छ। त्यसैले नेपालमा सर्वसाधारण जनताले राजनीतिज्ञहरूलाई भ्रष्टहरूको झुण्डको रूपमा सम्बोधन गरिरहेका छन्।

दोस्रो दर्जामा छ– सरकारी संयन्त्र, जसमा निजामती कर्मचारी, जङ्गी, प्रहरी, संस्थानलगायतमा कार्यरत राष्ट्रसेवकहरू पर्छन् । यी निकायमा आजसम्म जनताको सहज पहँुच स्थापित हुन सकेको छैन। सरकारले दिएको नीति, निर्देशन, कानुनी प्रावधान आदिका आधारमा प्रवाह गरिने सेवामा सेवाग्राहीहरू सन्तुष्ट छैनन् । प्रक्रिया अत्यन्त जटिल छ।

प्रायः जनसम्पर्क हुने कार्यालयहरूमा खुलेआम घूसको चलखेल देखिन्छ । कार्यालय प्रवेश गर्ने ढोकामा नै दलालसँग सेवाग्राहीको जम्काभेट हुन्छ। दलाल र सेवा प्रदायकबीच अत्यन्त सुमधुर सम्बन्ध हुन्छ। त्यसैले यस्ता कार्यालयहरूको सञ्चालन अप्रत्यक्ष दलालहरूले नै गरिरहेका हुन्छन्।

सरकार सुशासनको नारा दिएर थाक्दैन। जनता सामान्य कामका लागि दलाल, गाउँका टाठाबाठाहरूमा निर्भर हुनुपर्छ। कर्मचारीहरूको सेवाग्राहीप्रतिको व्यवहार अझै पनि सेवकका रूपमा देख्न पाइँदैन। शक्तिसँग नजिक भएकाहरूसँग ताबेदारी गर्दै जनतामाथि शोषण, दमन र अमैत्रीपूर्ण व्यवहार गर्नुमा नै सरकारी संयन्त्र अभ्यस्त छ।

यस परिस्थितिमा सरकारले गर्ने सुशासनको सुगा रटाइ सस्तो मनोरञ्जनमा सीमित देखिन्छ । यस्तो संयन्त्र राजनीतिज्ञलाई गलत मार्गमा लाग्ने बाटो देखाउन, सहयोग गर्न र राजनीतिज्ञ र कर्मचारीतन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचारदेखि सबै प्रकारका जनविरोधी कार्य गर्न हाम्रा राजनीतिज्ञहरू र सरकारी संयन्त्रका अधिकांश पात्र निर्लज्जताका साथ अघि बढिरहेका छन्।

यी सबै कुरा सहज बनेका छन् किनकि खुला रूपमा भ्रष्टाचार गर्नेहरूसमेत पुरस्कृत हुँदै गएका र नियन्त्रण गर्ने निकायले आँखा चिम्लिएको अवस्थासमेत पाइएको छ । यस्ता व्यक्तिहरू प्रायः शक्ति केन्द्रको नजिक रहेका हुन्छन् र सबै प्रकारका कुकृत्य गर्ने अभयदान राज्यका तर्फबाट प्राप्त गरिरहेका छन् । त्यसैले सरकारी संयन्त्र, जसलाई राष्ट्रसेवकको पवित्र सङ्ज्ञा दिइएको छ, उनीहरूले जनताका नजरमा कामचोर र भ्रष्टको पहिचान बनाएको पाइन्छ ।

अर्को पक्ष व्यापारी र उद्योगपतिहरूको छ । यो समूह सबै प्रकारका शक्तिमा रहेकाहरूसँग राम्रो सम्बन्ध कायम गरी अत्यधिक फाइदा लिन निपुण देखिन्छ । यिनीहरू राजनीतिज्ञहरूलाई बेलाबखत चन्दा सहयोग दिन्छन् । कामसँग सम्बन्धित कर्मचारीलाई नजराना टक्र्याउँछन् र आफ्नो दुनो सोझ्याउँछन् । यी सबै सहयोग र नजरानामा अत्यन्त थोरै लगानी गर्दै अत्यधिक रूपमा व्यक्तिगत फाइदा लिन्छन् । यिनीहरूको भेटघाट अत्यन्त फाइदाजनक हुने भएकाले देशका नीति निर्माताहरूको ढोका यिनीहरूका लागि सधैँ खुला रहन्छ ।

राजनीतिज्ञहरू यस्ता समूहप्रति अत्यन्त ज्यादा मैत्रीपूर्ण सम्बन्ध राख्छन्। केही उच्च पदाधिकारीहरूमाथि नियन्त्रण जमाई यिनीहरू व्यक्तिगत स्वार्थ पूर्ति गर्न खप्पिस हुन्छन् । यस्तै, व्यावसायिक समूहहरूको पकड सरकारी नीति निर्माण र निर्णय प्रक्रियमा रहन्छ।

उदाहरणका लागि हरेक क्षेत्रगत कार्यालयहरूमा यिनीहरू नै हाबी भएका हुन्छन्। त्यसैले जनता उद्योगपति, व्यापारीहरूलाई तस्करका रूपमा सम्बोधन गर्न रुचाउँछन्। समाजमा वैदेशिक रोजगार व्यवसायीहरूको अर्को वर्ग छ।

आफ्ना उद्योग कलकारखाना जनताले तस्करका रूपमा सम्बोधन गरिरहेका व्यक्तिलाई सरकारमा रहनेहरूले कौडीको मोलमा बिक्री गर्छन्। उद्योग सञ्चालन गर्न लगानीको सुरक्षा हुने वातावरण तयार गर्न सरकार असफल भएको छ। भएका उद्योगहरू बन्द हुँदै गएका छन्। देशभित्र रोजगारीको अवसर प्राप्त गर्ने अवस्था छैन । त्यसैले देशको युवा शक्ति वैदेशिक रोजगारमा पलायन भएको छ।

उनीहरूले प्रेषित गरेको विप्रेषणबाट देशको अर्थतन्त्र बामे सर्दै छ। सरकारमा रहनेहरू यसैमा गौरवान्वित भएका छन्। तर, तिनै युवालाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा ठूलो शोषण गर्ने अभयदान सरकार र यसको संयन्त्रले वैदेशिक रोजगार व्यवसायीहरूलाई प्रदान गरिरहेको छ। विदेशमा बसी कमाएको रकमको ठूलो अंश विदेश जाँदा लिएको ऋण तिर्नमा खर्चिनुपर्छ।

सरकार प्रष्ट नीतिका आधारमा यो समूहलाई नियन्त्रण गर्ने इच्छा शक्ति देखाउँदैन किनकि यथास्थितिमा छाड्दा नै देशका उच्च ओहदामा रहेकाहरूलाई फाइदा हुन्छ। त्यसैले यस्ता समूहलाई जनताले आफूमाथि भएको अन्याय र पीडाको क्षतिपूर्ति गर्न नसकी मानव तस्कर जस्तो घृणित नामले सम्बोधन गर्छन्।

समाजमा अर्को तप्का समाजसेवी नागरिक समाजको आवरणमा छ। देख्दा समाजसेवीको छद्म भेषमा रहेकाहरू अपवादबाहेक सबै व्यक्तिगत अभीष्ट पूरा गर्न तल्लीन छन् । अन्यत्र प्रायः विकसित देशहरूमा यो वर्ग सरकारलाई सतर्क गराई देशमा सुशासन कायम गर्नमा विशेष भूमिका निर्वाह गर्छन् ।

संवैधानिक निकायहरूमा पदाधिकारीको नियुक्ति गर्ने क्रममा डेनमार्कमा नागरिक समाजलाई महत्वपूर्ण भूमिका कानुनले नै प्रदान गरेको छ। तर, नेपालको सन्दर्भ भिन्न छ । नागरिक समाजको छद्म भेषमा विभिन्न दलका राजनीतिक कार्यकर्ताले पेसाकै रूपमा अवलम्बन गरी आर्जन गरिरहेका छन् । त्यसैले नेपालको सन्दर्भमा इमान्दार नागरिक समाज अस्तित्वमा आउन सकेका छैनन ।

कुनै राजनीतिक दलसँग आबद्ध हुन पाउँदा गौरव मान्ने नागरिक समाजसँग के अपेक्षा गर्न सकिन्छ ? त्यसैले जनताका नजरमा यो वर्गले सम्मान पाउन सकेको छैन । दातृ राष्ट्रहरूसँग विशेष सम्बन्ध कायम गरी उनीहरूकै स्वार्थअनुकूल कार्य गर्न अभ्यस्त प्राप्त गरेको स्थिति छ। अर्को वर्ग छ– पत्रकार । गलत र भ्रामक समाचारहरू सम्प्रेषण गर्छन् । व्यक्तिको चरित्रसँग खेलबाड गरिरहेका छन्।

देशमा ख्याति आर्जन गर्न सफल पत्रिकाहरू कुनै न कुनै राजनीतिक दल वा राजनीतिक नेतासँग आबद्ध भएको र उनीहरूकै एजेण्डा बोकेर हिँड्ने गरेको पाइँदै छ । खोजमूलक पत्रकारिताको सर्वथा अभाव छ। यसरी देशमा रहेका सबै पेसागत वर्गहरू कुनै न कुनै रूपमा जनताका नजरमा अस्वीकार भइरहेका छन्।

यस प्रकारको दुरवस्थावाट देश गुज्रिएको छ। यसको समाधान हुन सक्ने आसलाग्दो अवस्था देख्न सकिएको छैन। यसका लागि देशको राजनीति जनकेन्द्रित हुनुपर्छ। जुुन दिनसम्म साम्राज्यवादी र विस्तारवादी अदृश्य शक्तिको चङ्गुलमा देश फस्छ, त्यस दिनसम्म जनता व्यवहारमा सार्वभौम हुनै सक्दैनन्।

सार्वभौम जनताको अभावमा राजनीति, प्रजातन्त्र, स्वतन्त्रता, स्वाभिमान सबै निष्प्रभावी बन्छन्। त्यसैले नेपालको सुदृढीकरणको दिशामा यी पक्षहरूलाई राम्ररी प्राथमिकतामा राखी अघि बढ्नुपर्ने विश्लेषण प्रबुद्ध वर्गले गरिरहेको अवस्था छ। यो अवस्था विद्यमान हुनुमा हाम्रो समग्र समाज पनि जिम्मेवार छ । यी सबै वर्गकाहरू हाम्रै समाजका उपज हुन्। त्यसैले यसको सुधार समग्र समाजमा सुधार आउँदा मात्र सम्भव हुन्छ।

प्रतिक्रिया दिनुहोस्