८ औं संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै



काठमाडौं । नेपालको संविधान जारी भएको ७ वर्ष पूरा भएको छ। संविधानसभाबाट तत्कालिन राष्ट्रपति रामवरण यादवले ०७२ असोज ३ गते संविधान जारी गरेका थिए। संविधान जारी भएको ७ वर्ष पूरा भएसँगै आज ८ औं संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईंदैछ।

दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ।

संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो। पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ।

प्रतिक्रिया दिनुहोस्