संविधानको रक्षाका लागि गठबन्धनको जित अपरिहार्य : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन्।

‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको जित अपरिहार्य भएको छ,’ आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्। त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपिल गरेका छन्।

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ । ‘यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ,’प्रचण्डले भनेका छन्।

‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो। संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान  र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ,’ उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्