मेयरको टुकुचा अभियानमा अदालतको अङ्कुश



काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका तर्फबाट भोलाविक्रम थापासमेतले ३१ भदौमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ। उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला पत्ता लगाएको थियो । अदालतले ५ असोजमा दुवै पक्षलाई छलफलमा बोलाएको छ।

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको छ । अदालतले यो निर्णयले महानगरका मेयर बालेन्द्र शाह (बालेन)को योजनामा अङ्कुश लागेको छ।

महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर जय नेपाल हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टाएको हो। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो ।

टुकुचा खोला पुरेर घर बनाएको भन्दै स्थानीय बासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरूले टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए। नापी कार्यालयसँग उक्त खोलाको नक्सा हुनुपर्ने भन्दै मेयर बालेनले मङ्गलबार नै महानगरका शहरी विकास विभाग प्रमुख सुरज शाक्यलाई नक्सा खोज्न निर्देशन दिएका थिए । नापी कार्यालयले पनि टुकुचाको अधिकांश क्षेत्रफल नक्सामा भने समेटेको छैन ।

मेयर बालेनले गत साता मालपोत र नापी कार्यालयलाई पत्रसमेत पठाएका थिए । दुवै निकायबाट पत्र नआएपछि उनी आफैँले नक्सा खोज्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्