सिट बाँडफाँटको सकसमा गठबन्धन, झन् पेचिलो बन्दै पर्सा



  • सूर्य विक

वीरगन्ज । गठबन्धनमा आबद्ध प्रमुख दलहरूले प्राथमिकताका साथ हेरिरहेको पर्सा जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच तानातान चलिरहेको छ। जसपा र कांग्रेस दुवै आ–आफ्नो अडानबाट पछि नहटेपछि पर्सा जिल्लामा सिट बाँठफाँटको विषय पेचिलो बन्दै गएको छ।

सत्ता गठबन्धन सिट बाँडफाँटको सकसमा अल्झिइरहेको छ भने पर्सामा गठबन्धन टिकाउ होला कि देखावटी मात्रै ? भन्ने कौतुहलताको विषय बनेको छ। पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको सिट कसले लिने भन्ने प्रश्नको जबाफमा पर्साबासी व्यग्र प्रतीक्षामा छन्। अधिकांश स्थानमा सिट बाँडफाँट अनौपचारिक रूपमै टुङ्गो लागे पनि पर्सामा कांग्रेस र जसपाको दाबीले किचलो थपिएको छ।

मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्जको मुख्य क्षेत्र समेटिएको क्षेत्र नम्बर १ को सिट बाँडफाँट निकै रोचक हुने अनुमान लगाउन सकिन्छ। यसै क्षेत्रबाट नेपाली कांग्रेसका अनिल रुङ्गटालाई ४ हजार ६५१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका जसपाका प्रदीप यादव हाल वन तथा वातावरणमन्त्री छन् । यसअघि पनि साविकको फोरम हालको जसपाले नै जितेको हुँदा यसपालि पनि जसपाले नै टिकट पाउनुपर्ने यादवको अडान छ भने वीरगन्ज महानगरपालिकाको मेयर जसपालाई दिएको हुँदा प्रतिनिधिसभा सदस्य आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।

नेपाली कांग्रेसबाट संविधानसभा सदस्य अनिल रुङ्गटा र निवर्तमान जिल्ला सभापति अजयकुमार द्विवेदी प्रवल आकांक्षीको रूपमा अगाडि आएका छन् । प्रधामन्त्रीसमेत रहेका कांग्रेस सभापतिका खास निकट मानिने रुङ्गटाले २०७४ सालको निर्वाचनमा १६ हजार ४८१ मत पाएका थिए भने फोरमबाट यादवले २१ हजार १३२ मत प्राप्त गरेका थिए ।

अघिल्लो चुनावमा हारेकै कारण यसपटक रुङ्गटालाई नदिएर यसपटक जसरी पनि गठबन्धनबाट टिकट लिएर जित आफ्नो पक्षमा निकाल्ने दाउ द्विवेदीको छ । टिकट नपाए अन्य दलमा गएर भए पनि अथवा स्वतन्त्रबाट भए पनि चुनाव लड्ने द्विवेदीको मनस्थिति छ । तर उनकी श्रीमती डा. सुष्मा तिवारी द्विवेदीलाई समानुपातिकबाट सांसद बनाएमा भने उनी पछि हट्न सक्ने बताइएको छ ।

अघिल्लो चुनावमा मधेसवादी गठबन्धनले चारै क्षेत्रमा जित हात पारेको हुँदा यसपटक जसपाले पर्साका चारै निर्वाचन क्षेत्रमा दाबी गरिरहेको छ। कांग्रेसले भने वीरगन्ज महानगरका क्षेत्र समेटिएको १, २ सँगै क्षेत्र नम्बर ४ मा दाबी गरेको छ भने क्षेत्र नम्बर ३ जसपालाई छोड्न सहमत भएको छ।

क्षेत्र नम्बर २ मा कांग्रेसका अजयकुमार चौरसिया र राजेन्द्रबहादुर अमात्य उम्मेदवारका बलिया आकाङ्क्षी भए पनि यी २ बीचको तानातान सतहमा आउँदा अन्योल देखिएको छ। दुवैले आ–आफ्ना गुटबाट एकल नाम सिफारिस गराउँदा उनीहरूबीचको विवाद सतहमा आएको हो भने यसबाट स्वयं कांग्रेसलाई नै क्षति हुने निश्चित छ।

पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मधेस प्रदेश संयोजक रमेश रिजाल उभिएका छन्। कांग्रेसले उनलाई उम्मेदवारको रूपमा उभ्याउने निश्चित छ।

अघिल्लो पटक मधेसवादी गठबन्धनका तर्फबाट लक्ष्मणलाल कर्णले जितेका थिए। तर नेकपा माओवादी केन्द्रले पनि क्षेत्र नम्बर ४ पाउनुपर्ने अडान कायम राखेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर शाक्य सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

प्रतिक्रिया दिनुहोस्