ग्लोबल आईएमईको ग्राहक ठग्ने ‘स्किम’ !



काठमाडौं । अपेक्षित रूपमा निक्षेप नबढेपछि बैंकहरू जसरी हुन्छ, सर्वसाधारणहरूबाट पैसा तान्ने होडबाजीमा छन् । झन नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर बैंकहरूले नयाँनयाँ ‘स्किम’हरू ल्याउने गरेका छन् ।

आफूलाई निजी क्षेत्रको वाणिज्य बैंक दाबी गर्दै आएको ग्लोबल आईएमई बैंकले दसैँको अवसरमा नयाँनयाँ ‘स्किम’हरू ल्याएको छ । सोही क्रममा बैंकले गत बिहीबार २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आईएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

झट्ट देख्दा उक्त ‘स्किम’ जोकोहीलाई मनपर्ने खालको छ । ‘यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरूले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नुहुनेछ’, बैंकले जारी गरेको विज्ञप्तिमा समेत उल्लेख छ । यसबाट १ लाख रुपैयाँ बैंकमा राख्यो भने २ वर्षपछि २ लाख रुपैयाँ हुने बुझिन्छ ।

२ वर्षमै २ गुणा हुने भएपछि जोकोहीले पनि यस ‘स्किम’बारे चासो राख्छन् नै । यस्तो ‘स्किम’ सार्वजनिक भएपछि धेरैमा जिज्ञासा उत्पन्न भइरहेको छ । बैंकले यसबारे राम्रोसँग प्रष्टीकरण दिएको पनि छ ।

तर, बैंकले ल्याएको ‘ग्लोबल आईएमई धनवृष्टि मुद्दती योजना’ ग्राहकलाई झुक्याउने खालको हो । पैसा तान्ने ग्लोबल आईएमई बैंकको योजना भ्रामक रहेको पुष्टि गर्ने धेरै आधारहरू पाइएका छन् ।

झट्ट सुन्दा १ लाख जम्मा गरे २ वर्षमा २ लाख रुपैयाँ हुन्छ भन्ने यो ‘स्किम’को वास्तविकता भने त्यस्तो होइन । बैंकले ग्राहकलाई झुक्याउन यस्तो ‘स्किम’ ल्याएको हो ।

एक पटक निश्चित रकम छनोट गरेपछि ३/३ महिनाको अनुपातमा १० प्रतिशतका दरले फेरि रकम जम्मा गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमै उल्लेख छ । यहीँबाट प्रष्ट हुन्छ कि यो ‘स्किम’ ग्राहक ठग्नका लागि ल्याएको हो ।

अब यहाँ बुझ्न जरुरी छ– बैंकले कसरी भ्रामक ‘स्किम’ सार्वजनिक गरेको रहेछ ?

उदाहरणका लागि कसैले सुरुमा मुद्दती निक्षेप खाता खेलेर १ लाख रुपैयाँ जम्मा ग¥यो भने २ वर्षमा १० प्रतिशतका दरले १० हजार रुपैयाँ ७ पटक तिर्दा १ लाख ७० हजार रुपैयाँ हुन जान्छ । बैंकले २ वर्षपछि २ लाख रुपैयाँ हुने भनेको छ ।

यसअनुसार मानौँ, तपाईंले १ वैशाखमा उक्त बैंकमा १ लाख जम्मा गर्नुभयो । त्यसको ३ महिनापछि १ साउनमा बैंकले भनेजस्तो सुरुमा डिपोजिट गरेको रकमको १० प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ– १ लाखको १० हजार रुपैयाँ । त्यसरी नै १ कात्तिक, १ माघ, १ वैशाख, १ साउन, १ कात्तिक, १ माघमा गरी ७ पटकसम्म १०/१० हजार रुपैयाँका दरले डिपोजिट गर्नुपर्ने हुन्छ ।

१० दशमलव ६५ प्रतिशतका दरले १ लाखको २ वर्षमा बैंकले २२ हजार ४२३ रुपैयाँ मात्र दिनेछ । त्यस्तै, ३ महिनापछि १० हजार जम्मा गर्दा १ लाख १० हजार रुपैयाँको २१ महिनाको ब्याज २४ हजार ३६१ रुपैयाँ हुन आउँछ ।

त्यसरी नै ६ महिनापछि जम्मा गरेको १० हजारसँगै १ लाख २० हजार रुपैयाँको १८ महिनाको ब्याज २६ हजार १ रुपैयाँ आउँछ । ९ महिनापछि १० हजार जम्मा गर्दा १५ महिनाको १ लाख ३० हजार रुपैयाँको ब्याज २७ हजार ३५० रुपैयाँ हुन आउँछ ।

१ वर्षमा फेरि १० हजार डिपोजिट गरेपछि १ लाख ४० हजार रुपैयाँको १ वर्षमा २८ हजार ४१५ रुपैयाँ ब्याज आउनेछ । त्यस्तै, १५ महिनामा १० हजार जम्मा गरेपछि १ लाख ५० हजार रुपैयाँको ९ महिनामा २९ हजार २०४ रुपैयाँ ब्याज आउनेछ ।

१८ महिनामा फेरि १० हजार जम्मा गरेपछि १ लाख ६० हजार रुपैयाँको ६ महिनामा २९ हजार ७२३ रुपैयाँ ब्याज आउँदो रहेछ । त्यस्तै, २१ महिनामा १० हजार डिपोजिट गर्दा १ लाख ७० हजार रुपैयाँको ३ महिनाको ब्याज २९ हजार ९७९ रुपैयाँ आउनेछ ।

यसरी हेर्दा १ लाख ७० हजार रुपैयाँको २ वर्षको ब्याज ३० हजार मात्र हुन आउँछ । मुद्दती निक्षेपकर्ताले १० दशमलव ६५ प्रतिशत ब्याजदर मात्र पाउने देखिन्छ । बैंकले भनेजस्तो १ लाखको २ लाख रुपैयाँ पाउने होइन ।

तर, आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्भित गर्दै आएको दाबी गरेको छ । ग्लोबल आईएमई बैंकको देशका ७७ वटा जिल्लामा शाखा सञ्जाल छ ।

हेर्नुहोस् बैंकले सार्वजनिक गरेको ‘ग्लोबल आईएमई धनवृष्टि मुद्दती योजना’

प्रतिक्रिया दिनुहोस्