तामाखानी उत्खनन् गर्न छन्त्याल जातिको माग



म्याग्दी । धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विक्रम संवत् १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन्। उनका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन् गरेको तामाबाट सामानहरू बनेका थिए।

उनको घरमा मिति उल्लेख भएका ६ माने, पाथी, गाग्री लगायतका तामाका सामग्री सुरक्षित छन्। १७४ वर्षअघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले जोगाएर राखेका छन्। मल्कबाङ गाउँ आसपासमा मात्रै दर्जन बढी तामाका खानी छन्।

डाँडा र पाखाभरि प्रशस्त तामाखानी छन् । खानी उत्खनन् गर्नु छन्त्याल जातिको पुख्र्यौली पेशा हो। धौलागिरि गाउँपालिकामा छन्त्याल जातिको बसोबास रहेका ठाउँमा तामाखानी बाख्लै भेटिन्छन् । त्यसैले परम्परागत रूपमा उत्खनन गरिएका तामाखानी र छन्त्याल समुदायको बसोबासबीचमा पेसा र जीविकोपार्जनको सम्बन्ध जोडिएको छ।

धौलागिरि गाउँपालिकाको मल्कबाङसँगै वडा नम्बर १ गुर्जा, वडा नम्बर ७ मच्छीम, धारापानी लगायतका क्षेत्रमा समेत तामा, फलाम लगायतका खानी खनेका सुरुङ छन् तर बन्द अवस्थामा रहेका दर्जनौं तामाखानी अहिले पुरिन थालेका छन् ।

तत्कालीन सरकारले करको दर बढाएसँगै करीब साढे १ शताब्दीदेखि यस क्षेत्रका तामाखानी बन्द हुन पुगेका थिए । बन्द अवस्थामा रहेका तामाखानीको अध्ययन र अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् । आफ्ना पुर्खाले खानी खनेका ठाउँ वरपर अहिले पनि तामाका धाउ भेटिने भएकाले यस क्षेत्रमा तामा खानीको सम्भावना अध्ययन गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने मल्कबाङका वडाध्यक्ष अमर छन्त्यालको भनाइ छ।

‘हाम्रो पुस्ताले यसैमा जीवन बिताए, उनीहरूले खनेका दर्जन बढी खानीका भग्नाबशेष यहाँ अझै भेटिन्छन्, सरकारले यस क्षेत्रका खानीको सम्भावनालाई अनुसन्धान गर्न जरुरी छ,’ उनले भने ।

तत्कालीन सरकारले खानी उत्खनन गर्नेबाट लिने करबापतको ‘भेजा’ बढी लिन थालेपछि छन्त्याल समुदायको पुर्ख्यौली पेशा खानी उत्खनन् संकटमा पर्न थालेको थियो । म्याग्दीमा अहिले खानीका भग्नावशेष भएका ठाउँ नजिक छन्त्याल समुदायकै बसोबास छ ।

छन्त्याल समुदायले खानीबाट तामा, फलाम लगायत उत्खनन् गरी अन्य ठाउँमा पुगेर अन्नसँग साटेर गुजारा चलाउने गरेको कथन बूढापाका सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्