ट्वीटर अकाउन्ट भेरिफिकेसन प्रक्रियामा बदलावको तयारी



काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले भेरिफिकेसन (निलो संकेत चिह्न) पाउने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ। यसै सन्दर्भमा ट्वीटरले अब शुल्क लिएर मात्रै भेरिफिकेसन संकेत चिह्न प्रदान गर्ने मिडिया रिपोर्टहरु पनि आइरहेका छन् तर यसको पुष्टि भइसकेको छैन।

अमेरिकी अरबपति एलन मस्कले एक युजरको ट्वीटमा प्रतिक्रिया दिंदै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने भनेर लेखेपछि अहिले यसबारे विश्वभर बहस भइरहेको छ। यद्यपि मस्कले त्यसबारे विस्तृतमा केही उल्लेख गरेका छैनन्।

एक मिडिया रिपोर्टका अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ। द भर्जले लेखेको समाचार अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९.९९ अमेरिकी डलर र भेरिफाइड भइसकेपछि मासिक ४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। भेरिफाइड भएको संकेत चिह्न (ब्लु टिक मार्क) लिइराख्ने र नलिने भनेर निर्णय गर्न ९० दिनको समय सीमा दिइने छ। एलन मस्कले यसबारे निर्णय लिन आफ्ना कर्मचारीहरुलाई नोभेम्बर ७ सम्मको समयसीमा दिएको समाचारमा उल्लेख छ।

ट्वीटरले भेरिफाइड अकाउन्ट युजरलाई निलो रंगको संकेत चिह्न दिन्छ। यसबाट व्यक्ति वा संस्थाको यो आधिकारिक ट्वीटर अकाउन्ट हो भनेर पहिचान गर्न सजिलो हुन्छ।

हाल ट्वीटरमा सबैको भेरिफाइड संकेत चिह्न हटाउन माग उठेको छ। १०० भन्दा कम फलोअर्सले भेरिफाइडको संकेत चिह्न पाएको तर हजारौं फलोअर्स भएकाले पनि नपाएको भन्दै सबैको संकेत चिह्न हटाउनुपर्ने माग उठेको हो। त्यसैले अहिले #Remove_all_BlueTicks ह्यासट्याग ट्रेन्डिङमा छ ।

प्रतिक्रिया दिनुहोस्