एमालेले डोटीका भूकम्प पीडितलाई १ लाख रुपैयाँ सहयोग गर्ने



डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले उक्त सहयोगको घोषणा गरेका हुन् ।

बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका-३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको जानकारी दिएका छन् । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताए ।

‘अन्त्यन्तै पीडादायी घटना भएको छ, यति बेला सबैले मानवीय संवेदना देखाउनु पर्छ’ डोटी प्रदेश सभा क्षेत्र “क” का लागि उम्मेदवार समेत रहेका अध्यक्ष मल्लले भने, ‘सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न म आग्रह गर्दछु ।’ पार्टीले गर्ने सहयोगको विषयमा आफूले आधिकारिक रुपमा डोटीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको समेत उनले बताए ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका-३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।
भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्