‘प्राज्ञिक’ शैली पछ्याउँदै श्रीजनकुमार



  • ज्ञानेन्द्र विवश

काठमाडौं । कलाकार श्रीजनकुमार राजभण्डारी समसामयिक नेपाली कलाजगत्मा ‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै आएका सीमित कलाकारमध्ये एक हुनुहुन्छ। जल रङ होस् वा तेल रङ अथवा अन्य माध्यम नै किन नहोस्, कलाकार राजभण्डारी तिनमा एकदम सूक्ष्म र श्रमपूर्वक काम गर्नुहुन्छ।

उहाँका ती कलाकृतिले नेपाली मन र माटोलाई प्रतिनिधित्व गर्दै आइरहेका छन् । ती चित्रले उहाँको मौलिक शिल्प–दक्षताको उदाहरण भनेर निकै प्रशंसा बटुल्दै आएका छन्।काठमाडौंको अट्कोनारायणस्थानमा उहाँको जन्म २०१९ सालमा भएको हो । उहाँका बुबाआमा मोहनधर राजभण्डारी र गङ्गादेवी राजभण्डारी हुनुहुन्छ। आफ्नो समयमा उहाँका बुबाले विभिन्न किसिमका मूर्तिहरू बनाउनुहुन्थ्यो।

उहाँ पनि सानैदेखि बुबाले बनाउनुभएका मूर्तिदेखि प्रभावित हुनुहुन्थ्यो। त्यसैले मूर्तिकलामा पनि उहाँ सिर्जनशीलता कायम छ। सानैदेखि अनेक मठ–मन्दिर तथा मूर्तिकलाका विविध स्वरूपले आफूलाई प्रभावित पार्ने गरेको उहाँ बताउनुहुन्छ। यद्यपि, उहाँको अध्ययनको विषयचाहिँ चित्रकला होइन।

उहाँले बाणिज्यशास्त्रको औपचारिक शिक्षा लिनुभएको छ । अपितु, पेसागत रूपमा उहाँ चित्र विधामा नै विगत लामो समयदेखि संलग्न रहँदै आउनुभएको छ। कला सिर्जनाका क्रममा उहाँले अनेक ठाउँको भ्रमण गर्नुभएको छ । स्थलगत कला रचनामा उहाँ उत्तिकै अभिरुचि राख्नुहुन्छ ।

आफू कतै जाँदा जहिले पनि कला रचनाका आवश्यक औजारहरू साथमै लिएर जाने गरेको उहाँ बताउनुहुन्छ। यसरी आफूले भ्रमण गरेका स्थानलाई सधैँ ‘अन दि स्पट’ चित्र क्यानभासमा उतार्दै आइरहेको पनि उहाँ जानकारी दिनुहुन्छ। ‘ल्यान्डस्केप पेन्टिङ’मा पनि उहाँ निकै पोख्त हुनुहुन्छ। चित्र रचनाका क्रममा आफू सदा सशक्त विषयवस्तु, प्रभावपूर्ण रेखाङ्कन र माधुर्यपूर्ण रङविन्यासप्रति एकदम सजग रहँदै आएको बताउनुहुन्छ।

आफ्ना कला रचनाहरूको प्रदर्शनीका शिलशिलामा उहाँ जापान, भारत आदि देशमा पुग्नुभएको छ । २०६३÷२०६४ सालमा ‘रिनेसाँम्यान’ भनेर चिनिने लिओनार्दो दा भिन्चीकृत विश्व विख्यात चित्र ‘मोनालिसा’ (इ.सं. १५०३–०५)को सिर्जना भएको ५०० वर्ष पुगेको थियो । त्यो कालजयी चित्र रचनाप्रति सम्मान प्रकट गर्न भारतको हविब आर्ट फाउन्डेसनले विश्वभरिका कलाकारहरूलाई आह्वान गरेको थियो।

फाउन्डेसनको निमन्त्रणाअनुसार नेपालबाट कलाकार मनुजबाबु मिश्र र श्रीजन राजभण्डारीले आ–आफ्ना शैलीमा मोनालिसालाई पुनः सिर्जना गर्नुभएको थियो । ती चित्रहरूलाई अन्य देशका सहभागी कलाकारहरूले निकै चासोका साथ अवलोकन गरेका र आफूहरूलाई विभिन्न जिज्ञासा राखेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘दृश्य चित्रमा स्थान, मौसम र समयको प्रभाव देखाउन सक्नुपर्छ । पोट्रेट रचनामा मुहारका मांशपेसीहरूको तन्काइ, खुम्चाइ, लचकता र हाउभाउका अतिरिक्त चित्र–पात्रको मानसिक अवस्थालाई अभिव्यक्त गर्न सक्नुपर्छ । मैले चित्र रचना गर्ने अधिकांश कलामा यिनै विधिलाई अँगालेर काम गर्ने गरेको छु ।’

श्रीजनले ‘मोनालिसा’ चित्रमा चर्खा कात्दै गरेकी वृद्ध महिलाको आकृति उतार्नुभएको थियो । आफूले सो चित्र स्वावलम्बनको प्रतीक देवीका रूपमा अभिव्यक्त गरेको उहाँ बताउनुहुन्छ । आफ्नो चित्रबारे कलाकार राजभण्डारी थप व्याख्या गर्दै भन्नुहुन्छ, ‘सोह्रौँ शताब्दीकी मोनालिसालाई अहिलेको एकाईसौं शताब्दीमा मैले नेपाली ग्रामीण महिलाको प्रतिनिधि पात्रका रूपमा कल्पना गरेँ । मेरी मोनालिसाले चर्खा कात्दै जीवन निर्वाह गर्छिन् । उनले सामाजिक यथार्थको प्रतिनिधित्व गरेकी छन् ।’

कलाकार राजभण्डारी जल रङ विधालाई औधी मनपराउनुहुन्छ । यस माध्यममा कला कर्म गर्नु भनेको सिकारुका लागि गाह्रो काम हो । यस माध्यमबारे उहाँ भन्नुहुन्छ, ‘वाटर कलरमा पानी र रङको मात्रामा सन्तुलित हुन अतिआवश्यक हुन्छ । चित्र सतहमा रङ प्रयोग गर्दा त्यसको स्वच्छता र पारदर्शी गुण कायम रहनुपर्छ ।’

श्रीजन निःसन्देह कुशल चित्रकार हुनुहुन्छ । यस अर्थमा उहाँलाई ‘भर्सटाइल आर्टिस्ट’को सङ्ज्ञा दिएमा अन्यथा नहोला । उहाँले आफूलाई एउटै शैली वा वादमा सीमित राख्नुभएको छैन । उहाँले रियालिस्टिक, सररियालिस्टिक र हाइपर रियालिस्टिक शैलीमा काम गर्दै आउनुभएको छ । समग्रमा उहाँ नेपाली ललितकलाका एक सशक्त र आफ्नै किसिमको मौलिकता बनाइसक्नुभएका कलाकार हुनुहुन्छ ।

उहाँको ‘कहिले ?’ शीर्षकको चित्र रचनामा कलाकारको कल्पनाशीलता र शिल्पगत दक्षता देख्न सकिन्छ । ‘अजर अमर देवी र मरणशील महिलाहरू’ शीर्षकको चित्र उहाँको अर्को प्रभावशाली कृतिका रूपमा चिनिन्छ । प्रायः आफूले यस किसिमका विषयवस्तुलाई नै प्राथमिकता दिएर कलारचना गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

आफ्नो चित्र रचनाबारे उहाँ भन्नुहुन्छ, ‘हाम्रो समाजमा देवीलाई अलौकिक र अमर मानिन्छ । तिनकै आराधना गरिन्छ तर यही समाजमा बस्ने लौकिक महिलाहरूको अवस्था सन्तोषजनक भने छैन । यो मरणशील जीवनमा सुखको अनुभूति गर्न नपाउने तिनै महिलाप्रति मेरो सम्वेदना स्वरूप यस सिर्जनामा अभिव्यक्त भएको छ ।’

चित्रकार राजभण्डारीले २०७६ सालमा भद्रकालीस्थित सैनिक मुख्यालयका लागि १० फिट चौडाइ र ३० फिट लम्बाइको भित्तेचित्र बनाउनुभएको थियो । सो चित्रको विषयवस्तु सरदार भक्ति थापाले मलाउ देउथलको युद्धको नेतृत्व गर्दै गरेको ऐतिहासिक घटना रहेको उहाँ बताउनुहुन्छ । सो युद्धचित्र वास्तवमै तत्कालीन युद्धको झलक दिन निकै जीवन्त रहेको भनाइ आगन्तुक दर्शकहरूले गरिदिँदा आफूलाई आफ्नो कामप्रति गर्व लाग्ने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ ।

ऐतिहासिक युद्धको कालखण्डलाई झल्काउने सोही चित्रबारे जानकारी दिँदै चित्रकार भन्नुहुन्छ, ‘सो विषयसँग सम्बन्धित चित्र बनाउने क्रममा मैले निकै अध्ययन र अनुसन्धान गरेँ । त्यसबेलाका वेशभूषा, हातहतियार आदिबारे खोजेँ । मूल चित्र बनाउनु अगाडि प्रिलिमिनरी ड्रइङ्स (नमुना रेखाचित्रहरू)बारे सम्बन्धित विज्ञसँग छलफल गर्दै अन्तिम रूप दिन निकै समय लागेको थियो । ७० वर्षका सरदार भक्ति थापाको देशभक्तिप्रति म नतमस्तक भएँ । म सधैँ च्यालेन्जिङ काम गर्न मनपराउँछु । यो चित्र बनाउँदाको अनुभव मेरालागि अविस्मरणीय छ ।’

कलाकार राजभण्डारीले थुप्रै कला प्रदर्शनी, कलाकार्यशाला र ‘डेमोन्स्ट्रेसन’ कार्यमा सहभागिता जनाउँदै आउनुभएको छ । उहाँले धेरै पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ तथापि उहाँले नेपाली कलामा पु¥याउनुभएको योगदानको उचित सम्मान भने भएको छैन । उहाँ हालसम्म पाउनुभएका मुख्य पुरस्कारहरूमा २०४२ सालमा आयोजित राष्ट्रिय कला कौशल प्रदर्शनीमा ‘उत्तम पुरस्कार’, २०४६ र २०५१ सालको राष्ट्रिय कला प्रदर्शनीमा ‘प्रथम पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

(‘आईएनएस–स्वतन्त्र समाचार’बाट)

प्रतिक्रिया दिनुहोस्