४ महिनामा ४९ वन्यजन्तुको मृत्यु



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ४ महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक-एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।

तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा २ वटा दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ ।

त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा ३ वटा अर्ना, १ वटा चितुवा, तीन गौँरीगाई, २ वटा कछुवा, १ लगुना र ३ वटा घडियाल गोही रहेको तिवारीले जानकारी दिएका छन् ।

त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्