‘मैले न्याय नपाए मुख्यमन्त्रीको सनसनी भिडिओ बाहिर ल्याउँछु’



पोखरा । बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधारमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनिपुर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् ।

चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र आफूले न्याय नपाए अडि‌‌ओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राज्यकोषको दुरुपयोग गरेको प्रमाण आफूसँग रहेको खडेकाले दाबी समेत गरेका छन् । उनले भने ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईंहरुले भन्ने सनसनी अडिओ, भिडि‌ओ ल्याउँछु,’ ।

मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताएका छन् । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ । उनले भने ‘माइतीघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ,’ ।

साथै उनले नेपाली कांग्रेसका नेता समेत रहेका खड्काले अर्का मन्त्री विन्दुकुमार थापाले प्रदेशको बजेट प्लटिङमा लगानी गरेको आरोप लगाएका छन् । कानून मन्त्री विन्दुकुमारले आफ्नो निर्वाचन क्षेत्रको विकासमा भन्दा प्लटिङ गरिएका ठाउँमा बजेट हालेको खड्को दाबी छ । कानून मन्त्री विन्दुकुमार जग्गा व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्