तेह्रथुममा निर्वाचनको सम्पूर्ण तयारी पूरा



तेह्रथुम । तेह्रथुममा आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ।

तेह्रथुममा ५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल रहेका छन् । त्यस्तै ९३ स्थायी र एउटा अस्थायी केन्द्र रहेको छ । सात महिलासहित जम्मा ९४ मतदान अधिकृत निर्वाचनमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान प्रक्रिया सम्पन्न गर्न जिल्लामा खटिएकामध्ये २० जना सहायक मतदान अधिकृत महिला छन् । तेह्रथुमका लागि महिला दुई सय ३२ र पुरुष पाँच सय १५ गरी जम्मा सात सय ४७ कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी निराज शर्माले जानकारी दिए।

म्याङलुङ नगरपालिकामा १० मतदानस्थलमा १९ केन्द्र, लालीगुराँस नगरपालिकामा नौ मतदानस्थलमा १८ केन्द्र, मेन्छ्यायेम गाउँपालिकामा छ मतदानस्थलमा आठ केन्द्र, फेदाप गाउँपालिकामा १० मतदानस्थलमा १६ केन्द्र, छथर गाउँपालिकामा आठ मतदानस्थलमा १५ मतदान केन्द्र र आठराई गाउँपालिकामा १३ मतदानस्थलमा १७ वटा मतदान केन्द्र छन्।

प्रतिक्रिया दिनुहोस्