आजदेखि फुटबल महाकुम्भ



एजेन्सी । धेरै देशका बासिन्दाले सहनै नसकिने चर्को तापक्रम भएको देश, आप्रवासी कामदारमाथिको ज्यादती र एलजीबीटीक्यूले उठाएको मानवअधिकारको प्रश्नले यस संस्करणको विश्वकप फुटबल सम्भवतः इतिहासकै विवादास्पद विश्वकप हुनेछ । लियोनल मेसी, रोनाल्डो र नेइमारको प्रदर्शनले अन्तिम विश्वकप भएका कारण यो विश्वकप त्यत्तिकै महत्वपूर्ण छ । एसियामा दोस्रो तथा अरब देशको पहिलो आयोजना यस विश्वकपमा थप विशेषता हुन् ।

आर्थिक रूपले संसारकै सबल क्षेत्र पनि मध्यपूर्वमा छन् । तेलको व्यापारले पछिल्ला दशक अन्य देशलाई पछाडि पार्दै आएका यहाँका देशहरू विश्व स्तरीय खेल महोत्सवको आयोजनाको सवालमा भने पछाडि नै छन् ।

यी सकारात्मक र नकरात्मक दुवै विशेषता बोकेको २२औँ विश्वकप फुटबल प्रतियोगिता आइतबार कतारमा सुरु हुँदै छ । ३२ वटा देशको सहभागिता रहेको विश्वकपको उद्घाटन खेल कतार र इक्वेडरका बीचमा हुनेछ । इटालियन रेफ्री डानियल ओस्टारोले खेल सञ्चालन गर्नेछन् ।

बीटीएसका सदस्य जंगककबाट साङ्गीतिक प्रस्तुति हुनेछ । जंगकक विश्वकप उद्घाटनमा प्रस्तुति दिने पहिलो कोरियाली हुनेछन् । १ दिनपछि २१ नोभेम्बरका दिन निर्धारित कतार र इक्वेडरबीचको खेल फायर वर्कसहितको भव्य उद्घाटनसहित खेल्ने चाहना कतारले राखेपछि २० नोभेम्बरकै खेल आयोजाना गर्न लागिएको हो ।

एटलान्टाका ड्रमर ली बेबीले पनि प्रस्तुति दिनेछन् । बेबीले सन् २०२२ मा उत्कृष्ट  र्‍यापरको रूपमा ग्रामी अवार्ड जितेका थिए । उनी यसै वर्ष बीईटी अवार्डलगायत अनेक अवार्डबाट पुरस्कृत भइसकेका छन् । उद्घाटन समारोह ३० मिनेटको हुनेछ। साकिरा र डोयलिपाले पनि प्रस्तुति दिने हल्ला चले पनि यी दुवैले कुनै प्रदर्शन गर्नेछैनन् ।
विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ ।

सहभागी ३२ वटा देशमध्ये कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘ए’मा छन् । इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘बी’मा छन् । अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘सी’मा छन् । यसैगरी समूह ‘डी’मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया सहभागी छन् । समूह ‘इ’मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् ।

साथै, बेल्जियम, क्यानाडा, मोरक्को र क्रोएसिया समूह ‘एफ’मा छन् । ब्रािजल, सर्बिया, स्विट्जरल्यान्ड र क्यामरुन समूह ‘जी’मा छन् । पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया समूह ‘एच’मा छन्।सामान्यतयाः विश्वकप फुटबल जुन या जुलाईमा हुने गरेको थियो।

त्यस समयमा कतारको गर्मी सहन नसकिने भएका कारण इतिहासमै पहिलो पटक जाडो याममा विश्वकप फुटबल आयोजना हुन लागेको हो । जुलाई महिनामा कतारको तापक्रम १०६ डिग्री फरेनहाइट पुग्ने गरेको छ भने नोभेम्बरमा ८४ तथा डिसेम्बरमा ७५ डिग्री फरेनहाइटसम्म पुग्ने अनुमान गरिएको छ ।

रङ्गशालामा हुने एयर कन्डिसन त्यहाँको अर्को विशेषता हुनेछ । आप्रवासी कामदारको समस्या र मृत्युका कारण यो विश्वकप विवादित पनि भएको हो । एमनेस्टी इन्टरनेसनल र अन्य सरोकारवालाले कामदारको क्षतिपूर्तिका लागि ४४० मिलियन डलर क्षतिपूर्तिको माग गरेका छन् ।

एउटै लैङ्गिक पहिचान भएकाहरूबीचको यौन सम्पर्क वर्जित भएका कारण कतार विश्वकपलाई एलजीबीटीक्यूले बहिष्कार गर्ने भएका छन् । भ्रष्टाचारको आरोप सहेको कतार विश्वकप अन्य कुराले पनि विवादित बनेको छ । जर्मनीका पूर्वस्टार फिलिम ल्हामले त सबै पाटोबाट कतार विश्वकपलाई बहिष्कार गर्ने बताइसकेका छन् ।

आयोजक कतारले देशअनुसारको फरक अध्यागमन नीति लिएको छ । अमेरिकालगायत संसारका समृद्ध देशका नागरिकका लागि पासपोर्ट आवश्यक हुनेछैन । उनीहरूले अध्यागमनमै ‘अन अराइभल’ भिसा लगाउन सक्नेछन् ।

सार्वजनिक स्थलमा मदिरा प्रतिबन्धित रहेको स्थानमा कतार विश्वकपको आयोजना हुँदै छ । कतारमा सार्वजनिक स्थानमा मदिरा सेवन गरे ८५० अमेरिकी डलरसम्म जरिमाना तथा ६ महिनासम्म कैद सजाय हुन सक्नेछ । तथापि, फ्यान जोनमा मदिरा सेवन गर्नका लागि निश्चित ठाउँ भने छुट्याइनेछ ।

यस पटकको विश्वकप फुटबलका खेल १३ रङ्गशालामा हुनेछन् । लुइसालको आइकोनिक रङ्गशाला सबैभन्दा ठूलो रङ्गशाला हो । त्यस रङ्गशालाको क्षमता ८० हजार दर्शक बराबरको छ । अल खोरको अल बायट रङ्गशालाको क्षमता ६० हजार तथा दोहाकै स्टेडियम ९७४ को क्षमता ४० हजार दर्शकको छ ।

दोहाकै थुमाना रङ्गशालाको क्षमता पनि ४० हजार बराबरकै छ । अल रायनको खालिफा अन्तर्राष्ट्रिय रङ्गशालाको क्षमता ४५ हजार ४१६ बराबरको छ भने त्यसै स्थानको एजुकेसन सिटी स्टेडियमको क्षमता ४५ हजार ३५० छ । यसैगरी अहमद बिन अली रङ्गशालाको क्षमता ४४ हजार ७४० छ । बाखराखको अल जनाब स्टेडियमको क्षमता ४० हजार दर्शक बराबरको छ ।

यस विश्वकपमा एडिडासको बल प्रयोग गरिनेछ । बलको नाम अल रिहला प्रो छ । मस्कट लायवलाई राखिएको छ । अरबी भाषामा लायवको अर्थ अत्यन्त धेरै सीप भएको खेलाडी हो । यस विश्वकपको टाइटल गीत ‘हाभ्या हाभ्या’ रहेको छ । यसको अर्थ सबै मिलेर राम्रो गर्ने भन्ने हो । यस गीतलाई ट्रिनडाड कारडोना, डेभिडो र आइसाले गाएका छन् ।

यस विश्वकपमा पनि भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिनेछ । पहिलो पटक सन् २०१८ को विश्वकपमा भीएआरको प्रयोग भएको थियो । पेनाल्टी, फल, गोल लाइनलगायतका महत्वपूर्ण निर्णय गर्नुपर्दा यसको सहयोग लिने गरिन्छ । यस पटकको पुरुष विश्वकपमा ३ जना महिला रेफ्री छनोट भएका छन् । यो अवसर पाएर कीर्तिमान राख्नेमा फ्रान्सकी स्टेफन फ्रापर्ट, रुवान्डाकी सालिमा मुक्सान्गा र जापानका योसिमी यामासितो छन् ।

यस पटक अफसाइडको सवालमा एकदमै छिटो र एक्युरेट निर्णयका लागि पनि थप प्रविधिको प्रयोग हुने भएको छ। बल ट्र्याक गर्न १२ वटा थप क्यामरा प्रयोग हुनेछन् । साथै, खेलाडीको सही पोजिसन थाहा पाउनका लागि २९ वटा डाटा प्वाइन्ट राखिएको छ । बलमा पनि सेन्सर राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्