प्रचण्ड भन्छन् : चुनावमा सोचेजस्तो परिणाम आएन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोतेजस्तो चुनावी परिणाम नआएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारी जिविस चोकमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताएका हुन् ।

उनले भने ‘हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यसरी अलि भएन भन्ने छ। नसोचेको नसोचेको के(के कुरा भए भन्ने पनि छ,’ ‘म अहिले काठमाडौं गइहाल्नुपर्ने भयो। देशभर जस्तो चुनावी परिणामको अपेक्षा गरिएको थियो त्यो अलि भएन भन्ने नै हो । त्यसका लागि गठबन्धन बैठक गरी जरूरी गृहकार्य गर्न पर्ने भएको छ ।’

उनले गोरखा २ का गाउँगाउँमा पुगेर केही दिनपछि मात्रै आफूले धन्यबाद सभाहरू गर्ने बताएका छन् । उनले यो चुनावमा परिवर्तन उल्टाउने चेष्टा भएको समेत आरोप लगाएका छन् । उनले कुनै पनि हालतमा परिवर्तन उल्टाउन नदिइने दाबी समेत गरेका छन् । प्रतण्डले परिवर्तन रक्षा गर्दै गोरखा र सिंगो देशलाई विकासको गति दिने उद्देश्यले काम गर्ने पनि प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्