ओरोलोतर्फ वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं । पछिल्लो समय विदेशी लगानी प्रतिबद्धता र उद्योग दर्ता सङ्ख्या दुवै ओरोलोतर्फ लागेका छन् । चालू आर्थिक वर्षको प्रथम चौमासिक (साउनदेखि कात्तिक)सम्म जम्मा ११ अर्ब ६० करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता भएको छ। यो गत वर्षको तुलनामा ४ अर्ब २३ करोड रुपैयाँ कम हो।

गत वर्ष सोही अवधिमा विदेशी लगानी प्रतिवद्धता १५ अर्ब ८३ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको थियो। चालू आर्थिक वर्षको प्रथम चौमासिकमा वैदेशीक लागनीका उद्योग दर्ता ९५ वटा मात्र भएका छन् । यो गत वर्षको तुलनामा २१ वटा कम हो । गत वर्ष सोही अवधिमा ११६ वटा उद्योग दर्ता भएका थिए ।

यसैगरी विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ को कात्तिक महिनासम्ममा १२ अर्ब ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो भने १०१ वटा उद्योग दर्ता भएका थिए। यस्तै, आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिमा उद्योग विभागमा २० अर्ब २ करोड रुपैयाँको लगानी प्रतिबद्धता भएको थियो भने ११५ वटा उद्योग दर्ता भएका थिए।

विभागको तथ्याङ्कअनुसार सरकारले विदेशी लगानी भित्र्याउन पटकपटक लगानी सम्मेलन र विभिन्न नीति, नियम ल्याए पनि विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न अझै आकर्षित भएको देखिँदैन।विभागका अनुसार नेपालमा विदेशी लगानी स्वीकृत भएदेखि चालू आ. व.को कात्तिक महिनासम्ममा उद्योग विभागमा ५ हजार ८१५ वटा उद्योग दर्ता हुँदा ४ खर्ब ३० अर्ब ८६ करोड रुपैयाँ लगानी मात्र प्रतिबद्धता भएको छ। हालसम्म उक्त लगानी प्रतिबद्धता भए पनि सो लगानी प्रतिबद्धताबाट जम्मा ३३ प्रतिशत मात्र लगानी भित्रिने गरेको विभागले जनाएको छ।

सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न नीति, नियम ल्याए पनि विदेशी लगानीकर्ता आकर्षित गर्न वातावरण अझै नेपालमा बन्न नसकेको हुँदा लगानी अपेक्षा गरेअनुसार नआएको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन्। नीति, नियम र कानुन मात्र बनाएर विदेशी लगानी नभित्रिने उनले बताए। विदेशी लगानीकर्तालाई नेपालमा लगानी सुरक्षित छ भनेर जबसम्म वातावरण निर्माण गरी विश्वस्त बनाउन सक्दैन तबसम्म नेपाल अपेक्षा गरेअनुसार लगानी नआउने उनको भनाइ छ।

उनले कतिपय विदेशी लगानीकर्ताले विभागमा उद्योग दर्ता गरी लगानी प्रतिबद्धता गर्ने तर लगानी नै नल्याएर फर्किने गरेको पाइएको जानकारी दिए। उनले चालू आर्थिक वर्षको कात्तिक महिनासम्म ११ अर्ब ६० करोड रुपैयाँको लगानी मात्र प्रतिबद्धता भएको बताए। ९५ वटा विदेशी लगानीका उद्योग दर्ता हुँदा उक्त लगानी प्रतिबद्धता भएको जानकारी दिए।

विभागमा धेरै जस्तो पर्यटनमूलक र सेवामूलक क्षेत्रमा विदेशी लगानीकर्ताले लगानी ल्याउने गरेका उनले बताए। उनले पछिल्लो समय ऊर्जा, खनिज, कृषिमूलक क्षेत्रमा शून्य लगानी रहेको बताए।विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको प्रथम चौमासिक ९५ वटा विदेशी लगानीका उद्योग दर्ता हुँदा ऊर्जामूलक, कृषिमूलक, खनिजमूलक क्षत्रेमा कुनै विदेशी लगानी आएको छैन। सेवामूलक क्षेत्रमा ४६ वटा, पर्यटन क्षेत्रमा ३९ वटा र उत्पादनमूलकमा ५ वटा उद्योग दर्ता भएका छन्।

यस्तै, सूचना प्रविधिमा ४ वटा र पूर्वाधारमा एउटा उद्योग दर्ता भएको छ। यसमा ठूलो एउटा उद्योग दर्ता हुँदा ३ अर्ब २३ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको गरेको छ भने मझौता १९ वटा उद्योग दर्ता हुँदा ६ अर्ब २२ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेका छ । यस्तै, साना ७५ वटा उद्योग दर्ता हुँदा ४ अर्ब ६ करोड ८३ लाख रुपैयाँ प्रतिबद्धता गरेको छ।

प्रतिक्रिया दिनुहोस्