वैदेशिक रोजगारीमा रहेकालाई कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढ्यो



काठमाडौँ । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ । ४ वर्ष पुरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको कोषले अब वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई समेत कोषमा आबद्ध गराउने प्रक्रिया अगाडि बढाएको हो।

७ मंसिरमा बसेको कोषको बोर्ड बैठकले सबै नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको थियो। निजी क्षेत्रका रोजगारदाता र श्रमिकलाई मात्र केन्द्रित गराइरहेको कोषले अब वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत समेट्ने भएको हो ।

कोषको बोर्ड बैठकले निर्णय गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ । मन्त्रीस्तरीय निर्णयबाट पारित भएपछि कार्यविधि कार्यान्वयनमा जानेछ। मन्त्रीस्तरीय निर्णयबाट पारित भएको मितिले ९० दिनपछि कार्यान्वयनमा जानेछ।

उक्त निर्णयले विदेशमा रहेका ४६ लाख भन्दा बढी नेपाली लाभान्वित हुने कोषको सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्