गठबन्धनको निरन्तरता : सहयात्री ताते, कांग्रेस मौन



काठमाडौं । नयाँ सरकार गठनको गृहकार्य सुरु भएलगत्तै सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनको निरन्तरताको पक्षमा देखिएका छन् । गठबन्धन सहयात्री दलले विगतदेखिको निरन्तरताको पक्षमा जोडबल गरिरहँदा सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले आगामी दिनको सहकार्यबारे रहस्यमय ढङ्गले मौन छ । अन्तिम चुनावी परिणाम सार्वजनिक नहुँदै माओवादी र नेकपा एसको प्रारम्भिक समीक्षा बैठकले गठबन्धनको निरन्तरताको पक्षमा धारणा बनाएका हुन् ।

तर, कांग्रेसले भने अहिलेसम्म यसबारेमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । पार्टीले प्राप्त गरेको निर्वाचन परिणामबारे असन्तुष्टि पोखेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे पनि देउवाको प्रष्ट धारणा सार्वजनिक भएको छैन । प्रत्यक्षतर्फको परिणाम सन्तोषजनक मानेको नेकपा एसले समानुपातिकतर्फ नतिजा अपेक्षा गरेभन्दा न्यून रहेको ठहर गरेको छ । चौथो संसदीय यात्रामा गोरखाबाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्ने क्रममा प्रचण्डले नतिजा अपेक्षाविपरीत रहेको बताएका थिए ।

कांग्रेसभित्र भावी प्रधानमन्त्री को बन्ने भन्ने विषयको पुरानो विवाद नयाँ ढङ्गबाट सतहमा आएपछि गठबन्धनको निरन्तरता पार्टीको प्राथमिकतामा नरहेको कांग्रेसका एक नेताको दाबी छ । मङ्गलबारको बैठकमा तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको ठहर गर्दै नेकपा एसले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने ठहर गरेको छ । सो पार्टीका उपमहासचिव प्रमेश हमाल भने चुनावताका नेताहरूले गरेको प्रतिबद्धताअनुसार गठबन्धनको पक्षमा बहुमत जुट्ने र पुरानै सहकार्यलाई निरन्तरता दिँदै शक्ति बाँडफाँट गरी सत्ता सञ्चालन गर्ने दाबी गर्छन् ।

केन्द्र र प्रदेश सरकार गठनका लागि गठबन्धनको निरन्तरता जरुरी रहेको उनले बताए । संविधानको रक्षा, लोकतन्त्रको स्थायित्वका लागि वर्तमान गठबन्धन अपरिहार्य रहेको बताउँदै उनले भने, ‘सरकार गठन गर्न गठबन्धन करिबकरिब बहुमत नजिक छ, गठबन्धनको विकल्प सोच्ने अवस्था छैन ।’ सरकार गठनमा नेकपा एसको पूर्ण समर्थन रहने तर सरकारमा सहभागी हुने÷नहुने निर्णय भने आगामी दिनको बैठकले गर्ने हमालले बताए ।

निर्वाचन प्रचारप्रसारका क्रममा देउवा, प्रचण्ड, नेपाललगायतका नेताहरूले गठबन्धन आगामी १५ देखि २० वर्षसम्म जाने प्रतिबद्धता जनाएका थिए । तर, निर्वाचन परिणाम आखिरतिर पुग्दै गर्दा गठबन्धनका नेताहरू एकअर्काप्रति सशङ्कित बन्न थालेका छन् । निर्वाचन पूर्ण परिणाम सार्वजनिक नहुँदै गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग फोन वार्ता र आइतबार कांग्रेस नेता प्रकाशमान सिंहले आइतबार ओलीसँग भेटवार्ता गरेपछि नेकपा एस कांग्रेस र माओवादीप्रति शङ्कालु बनेको छ ।

गठबन्धनको निरन्तरताको पक्षमा कांग्रेसले नबोलेको बारे मङ्गलबार माओवादी र नेकपा एसको आन्तरिक बैठकमा चर्चाको विषय बनेको छ । तत्कालै कांग्रेससँगको सहकार्य तोड्नु पार्टीका लागि घातक बन्ने माओवादी नेताहरूले ठहर गरेका छन् । शान्ति प्रक्रियामा थाँती रहेका विषय किनारा लगाउन वर्तमान गठबन्धनसँगको सहकार्यमा माओवादी नेताहरूले जोड दिएका छन् ।

कांग्रेसभित्र महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले भावी प्रधानमन्त्रीको दाबी र लबिङ सुरु गरिरहँदा प्रचण्ड पनि आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा छन् । आफ्नो पक्षमा माहोल बनाउन उनले गत साता नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग कारागार पुगेर गरेको भेट र आफ्नो समर्थनमा रौटहटबाट निर्वाचित प्रभु साहसँग टेलिफोन वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्