बैतडीमा घाँटी रेटेर युवतीको हत्या



धनगढी । बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ। उनीसँगैकी अर्की किशोरी घाइते छन्।

बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका-४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जनाएको छ।

उनकाअनुसार नेहा पनि घाँटी रेटेको अवस्थामा भेटिएकी हुन्। उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ। उनको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए। साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्