पहाडमा भेटियो तराईको रैथाने पक्षी



ललितपुर । तराईको रैथाने पक्षी ‘कालो टाउके सुनचरी’ काठमाडौं उपत्यकामा फेला परेको छ। समुद्र सतहबाट अधिकतम् ५०० मिटरको उचाइमा सहजै देखिने यो पक्षी ललितपुरको बज्रबाराहीमा देखिएको हो।

मङ्गलबार पक्षी अनुसन्धाता जय भण्डारीले गोदावरी नगरपालिका–११ बज्रबाराहीको धार्मिक वनमा कालो टाउके सुनचरीको तस्बिर कैद गरेका हुन्। पक्षी अनुसन्धाता रमेश चौधरीले ६ वर्षअघि काठमाडौंको साँखुमा यो पक्षीको अभिलेख गरेयता उपत्यकाका अन्य भेगमा फेला परेको थिएन।

तराईको रैथाने पक्षी हिउँद याममा उपत्यकामा भेटिनु नौलो भएको बताउँदै भण्डारीले द नेपालटपसँग भने, ‘मङ्गलबार अर्धवयस्क कालो टाउके सुनचरी देखियो, नौलो लाग्यो, आज दिउँसो (बुधबार) पनि हिजोकै ठाउँ आसपासमा भेटियो ।’ एक्लो भएकाले बाटो बिराएर यता आएको हुन सक्ने उनको ठहर छ ।

बज्रबाराही दुर्लभ र रैथाने पक्षीको रोजाइमा पर्छ । यहाँ काँडे भ्याकुरसहित १८० भन्दा बढी रैथाने र आगन्तुक पक्षी अभिलेख भएका छन्। काठमाडौं उपत्यकामा सबैभन्दा बढी पक्षी ललितपुरको गोदावरी–फूलचोकी क्षेत्रमा पाइन्छन् । यस क्षेत्रमा ३५९ थरी पक्षी अभिलेख भएका नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)को अभिलेख छ।

उनै भण्डारीले बुधबार ब्रजबाराहीको धार्मिक वनमा हुचिल पनि भेटेका छन् । हिउँद याम र मध्य दिउँसो विचरणमा निष्क्रिय हुने वयस्क मलाहा हुचिल सो क्षेत्रमा देखिएको हो। लामो समयदेखि पक्षी अवलोकन र अनुसन्धानमा सक्रिय भण्डारीले भने, ‘गर्मी मौसममा बज्रबाराही र आसपासका भेगमा सहिजै देखिने हुचिल हिउँदमा देखियो, यो नौलो पक्ष हो।’

मुसा, सर्प, छेपारो र अन्य किरा फट्याङ्ग्रा हुचिल (लाटोकोसेरो)का आहारा हुन् । लाटोकोसेरोको एउटा परिवार (भालेपोथी र बच्चाबच्ची)ले ४ महिनामा करिब ३ हजारवटा मुसा खान सक्ने भएकाले यो पक्षीलाई ‘किसानको साथी’समेत भन्ने गरिन्छ । विश्वमा लाटोकोसेरोका विभिन्न २५७ वटा प्रजाति पहिचान भएका नेपालमा लाटोकोसेरोका २३ थरी अभिलेख छन् ।

नेपालमा अभिलेख भएकामध्ये मलाहा हुचिल, कैलो मलाहा, चस्मे उलुक, भासोलुक महाकौसिक, हाप्सुलो, हिमाली हाप्सुलो, कबरार र उलक लघुकर्ण लाटोकोसेरो जस्ता ठूला पक्षी हुचिल हुन् । यीबाहेक अन्य लाटोकोसेरो हुन् । मलाहा हुचिलसहित विभिन्न ८ वटा प्रजातिका लाटोकोसेरो चोरी सिकारी र अवैध कारोबारले राष्ट्रियस्तरमै दुर्लभ सूचीमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्