पक्षीका कृत्रिम गुँड बनाउन विभागको चासो



काठमाडौं

शहरी क्षेत्रका पक्षीको सङ्ख्या बढाउन वन तथा भू–संरक्षण विभागले सरोकारवाला निकायसँग हातेमालो गर्ने भएको छ । कृत्रिम गुँड बनाउन विभागले पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) लगायत संस्थालाई सहयोग गर्ने जनाएको छ ।

काठमाडौंलगायत शहरमा यस्तो अभ्यास सुरु गर्न अपरिहार्य रहेको विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले बताए । ‘शहरी क्षेत्रमा प्राकृतिक बासस्थान पर्याप्त नहुँदा धेरै खालका पक्षी लोप हुने चरणमा छन्, पक्षीको अस्तित्व बचाउन ढिलो भइसकेको छ’, बीसीएनको ४०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने ।

बीसीएन र संरक्षण क्षेत्रमा क्रियाशील अन्य संस्थासँगको सहकार्यमा कृत्रिम गुँड र पक्षी बास बस्न मिल्ने संरचना बनाउन विभाग तयार रहेको उनले बताए । बीसीएनले यसअघि काठमाडौंका केही ठाउँहरूमा कृत्रिम गुँड बनाएको छ ।

यसैबीच सङ्घले विभिन्न व्यक्ति र संस्थालाई सम्मान एवं पुरस्कृत गरेको छ । ‘बर्ड लाइफ नेचर हिरो अवार्ड’ जाजरकोटका गोविन्दबहादुर सिंह र बर्दियाका राम शाहीले प्राप्त गरेका छन् । पेसाले पशु अधिकृत सिंह आफ्नै पहलमा जाजरकोटको दुर्गम भेगका घाइते पक्षी र जीवजन्तुको उद्धार तथा उपचारमा क्रियाशील छन् ।

जीवजन्तुको अवैध चोरी शिकार नियन्त्रणमा पु¥याएको योगदानलाई सम्मान गर्दै सङ्घले उनलाई सम्मान गरेको हो । पक्षी अनुसन्धाता शाही लामो समयदेखि संरक्षण अभियानमा जोडिएका छन् ।

नेपाल पक्षी संरक्षण सञ्जालले कास्कीको घाचोकस्थित गिद्ध संरक्षण व्यवस्थापन समिति र बर्दिया ठाकुरद्वारास्थित प्रकृति संरक्षण क्लबलाई १÷१ लाख राशिको पुरस्कार प्रदान गरेको छ । ३०÷३० हजार राशिको जटायु अनुसन्धान अनुदान त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रकी छात्रा सरु थापा पाण्डे र पोखरास्थित वन विज्ञान अध्ययन संस्थानकी छात्रा विनिता तिमल्सिनाले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्