प्रचण्ड दिल्ली जाँदै



नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बिहीबार भारत भ्रमणमा जाँदै छन्। दिउँसो साढे ३ बजे उनी एयर इन्डियाको हवाईजहाजबाट नयाँ दिल्ली जान लागेका हुन्। उनको भ्रमण टोलीमा पत्नी सीता, छोरी गंगा, स्वकीयसचिव जोगबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा हुनेछन्। उनी भारत सरकारको निमन्त्रणामा जान लागेका हुन्।

नयाँ दिल्ली पुगेपछि बिहीबार नै उनी नेपाली राजदूतावासको सामान्य भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। शुक्रबार उनले आईसीडब्लूएको कार्यक्रममा सम्बोधन गर्नेछन्। उनले त्यही दिन राजनीतिक भेटघाट सुरु गर्नेछन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेपछि उनले अन्य नेताहरूसँग भेटघाट गर्नेछन्। उनले भारतीय प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

उनले त्यहाँका बुद्धिजीवी र पत्रकारसँग पनि भेटघाट गर्ने तय भएको छ। उनी २४ भदौमा स्वदेश फर्कनेछन्। उनले नेपालको राष्ट्रिय हित, विकासप्रति जनताको आकांक्षा सम्बोधन गर्ने र विगतमा नेपाल र भारतबीच भएका सहमति–सम्झौता कार्यान्वयनमा केन्द्रित रहेर भारतीय प्रधानमन्त्रीलगायत राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने बताएका छन्। स्वदेश फर्केपछि भदौ ३० मा उनी अर्को छिमेकी चीनको भ्रमणमा जानेछन्।

प्रतिक्रिया दिनुहोस्