युएन शान्ति स्थापना तालिम शिक्षालयको ११औं स्थापना दिवस सम्पन्न



काठमाडौँ । नुवाकोट स्थित सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालयले आफ्नो ११ औं स्थापना दिवस मनाएको छ। सशस्त्र प्रहरी बल नेपालमा रहेका स्थायी इकाईहरुको यसै वर्षदेखि स्थापना दिवस मनाउने संगठनको नीति अनुसार सो तालिम शिक्षालयको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले यस्ता किसिमका कार्यले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा सामूहिक भावनाको विकासमा समेत सघाउ पुग्ने बताए ।

उनले हरेक वर्ष मनाउने स्थापना दिवसको अवसरमा गरिने क्रियाकलाप तथा आन्तरिक खेलकुद प्रतियोगितले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुमा हौसला प्रदान गर्नुको साथै आपसी भाईचारा, व्यावसायीक ज्ञान र इकाई प्रतिको समर्पण भाव अभिबृद्धि गर्ने र यसले सशस्त्र प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउने विश्वास समेत व्यक्त गरे।

अतिरिक्त महानिरीक्षक पौडेलले राज्यले अपेक्षा गरे अनुरुप सशस्त्र प्रहरी बल, नेपालले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुहुँदै यस तालिम शिक्षालयबाट विशेष गरेर मिसन एरियामा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उच्चस्तरको तालिम प्रदान गरी अन्तर्राष्ट्रियस्तरमा समेत प्रशांसित हुन सफल भएको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सो शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र शाह तथा प्रशिक्षण प्रतिष्ठानका सह-निर्देशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले शिक्षालयमा आयोजना गरिएको विविध खेलकुद विद्यामा प्रथम भएका सशस्त्र प्रहरी कर्मचारी तथा समूहलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे। त्यस अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र शाहले धन्यवाद ज्ञापन गर्दै यस तालिम शिक्षालयले सिमित श्रोत साधनको बावजुद मिसन एरियामा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्चस्तरको तालिम प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

करीब २ दशकदेखि संयुक्त राष्ट्र संघको अनुरोधमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थानार्थ परिचालन हुने जनशक्तिलाई प्रशिक्षण प्रदान गरी पेशागत क्षमता र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले वि.सं २०६८ साल मंसिर २२ गते सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्रको रुपमा स्थापना भई बि.सं २०७५ साल साउन १३ गते सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय नामाकरण गरिएको हो ।

कार्यक्रममा स्थानीय अन्य सुरक्षा निकायका प्रमुख, भद्रभलादमी तथा सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्