७६ प्रतिशत उम्मेदवारको जमानत जफत



काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा रहेका ४ हजार २८५ उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधिसभातर्फ १ हजार ९६१ र प्रदेशतर्फ २ हजार ३२४ उम्मेदवारको धरौटी जफत भएको हो। ४ मङ्सिरको दुवै निर्वाचनमा उम्मेदवारी दिएका ७६ दशमलव ४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ।

सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। प्रतिनिधिसभातर्फ २ हजार ४११ जना र प्रदेशतर्फको प्रत्यक्ष निर्वाचनमा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभातर्फ ८६ वटा राजनीतिक दल दर्ता भएकामा प्रत्यक्ष प्रतिस्पर्धामा ६१ र समानुपातिकतर्फ ४७ वटा राजनीतिक दलले भाग लिएका आयोगको तथ्याङ्क छ।

निर्वाचनमा सहभागी भएका ४७ मध्ये ४० वटा दलको जमानत जफत भएको छ। प्रदेश १ मा ३० दल, मधेस प्रदेशमा २६, बाग्मतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा १ सिट प्राप्त नगरेमा त्यस्ता दलको धरौटी जफत हुने व्यवस्था छ।

प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये प्रत्यक्षतर्फ ९ जना महिला निर्वाचित भएकामा समानुपातिकबाट ८२ सहित कुल ९१ महिला सांसद बनेका छन् । प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बर्चस्व रहेकाले समानुपातिकबाट निर्वाचित हुने महिला सांसदको बाहुल्य छ। आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ पुरुष १८४ जना र प्रदेशतर्फ ३५० जना पुरुष उम्मेदवार निर्वाचित भएका आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० सहित कुल ८२५ जना सांसद निर्वाचित भएका छन् ।

प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । जसअनुसार समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।

दुवै निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नाम आयोगले सार्वजनिक गरेको थियो । प्रतिनिधिसभातर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएकामा १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ५ दशमलव ६ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकामा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । यो निर्वाचनतर्फ ५ दशमलव ०९ प्रतिशत मत बदर भएको थियो ।

प्रदेशतर्फको प्रत्यक्ष निर्वाचनमा १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकामा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको आयोगले जनाएको छ । यो प्रणालीतर्फ ४ दशमलव ०७ प्रतिशत यही निर्वाचन प्रणलीको समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकामा १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ । प्रदेशको समानुपातितर्फ ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।

यसैबीच, आयोगले आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउँदै छ। सङ्घीय र प्रदेश दुवै निर्वाचन प्रणालीको अन्तिम नतिजा निर्वाचनको समग्र पक्ष समेटिएको प्रतिवेदन तयार भएको प्रमुख आयुक्त थपलियाले बताए । उनका अनुसार प्रदेशतर्फको प्रतिवेदन भने २ पुसमा बुझाउने उनले जानकारी दिए ।

थपलियाले भने, ‘सातै प्रदेशको राजधानीमा प्रदेशका माननीय प्रदेश प्रमुखज्यूहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने छ ।’ दुवै निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले पर्यवेक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्