स्थानीय तहको काम जनमुखी र पारदर्शी हुनुपर्छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने बताए।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधारस्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको बताए। उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए। प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वद्र्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे।

भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्