लक्ष्मी ग्रुपले मनायो ४९ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्व लक्षित कार्यक्रम



काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ४९ औं वार्षिकोत्सव मनाएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वार्षिकोत्सवको अवसरमा ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । सेरेब्रल पल्सी सेन्टरको माग अनुसार उक्त सामग्री वितरण गरिएको हो ।

हुन्डाई नेपालले हुन्डाई मोटरको मोबिलिटीसँग सबैलाई जोड्ने उद्धेश्यप्रति एक्यबद्दता जनाउँदै समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । मोबिलिटी सबैको आधारभूत आवश्यकता भन्ने मान्यता सहित कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनुका साथै आत्मनिर्भर बनाउने विश्वास लिईएको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिंग लगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ । यो समूह आफ्नो व्यापारसँगै संस्थागत सामाजिक उत्तरदायित्वको कार्यहरुमा पनि विश्वास र संलग्नताका लागि परिचित बनेको छ ।

विगत लामो समयदेखि आफ्नो वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वको कार्यहरु गर्दै आएको लक्ष्मी ग्रुपले व्यवसायिक उत्कृष्टता र दीर्घकालीन सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्