हिमाल आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठले दिए १ महिनाको तलब



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहोर्‍याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ ।

सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गरेका छन् । उनलाई कदरस्वरुप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिक ७७ हजार ७ सय ३० रुपैयाँ सहित सम्मान गरेका हुन् ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएका थिए । साथै विश्वमा नेपालको पर्वतीय पर्यटन प्रबद्र्धनमासमेत सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते पनि आरोही शेर्पालाई सम्मान गरेको थियो । नेपाल पर्वातारोहण सङ्घका अध्यक्ष निमा नूरु शेर्पाले नेपाली आमसञ्चार माध्यमले पर्वतारोहणको विषयलाई कम प्राथमिकता दिने गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्