राष्ट्रपति भण्डारी भन्छिन् : मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीमा



रूपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ बिहीबारदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटनपछि राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै विस्तार भएको र मुद्रा सञ्चितीमा अभूतपूर्व चाप परेको बताएकी हुन् ।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने भण्डारीको सुझाव छ । ‘अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ‘खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाएर मात्र व्यापार घाटा कम गर्न सकिन्छ ।’

राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आप्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको पनि उनको भनाइ थियो । यस्ता प्रदर्शनीले उद्योगी, व्यवसायीबीच व्यवस्थापकीय अनुभव आदानप्रदान गर्न र महिला उद्यमीको संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रति भण्डारीले बुटवल र भैरहवा नेपालकै अग्रणी औद्योगिक केन्द्रका रुपमा अघि बढेको भन्दै प्रशंसा पनि गरिन् । भण्डारीले प्रदर्शनी एवं महोत्सवहरुले नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगलाई उत्साह र उपभोक्तालाई सचेत बनाउन पनि सहयोग गरिरहेको भन्दै रुपन्देही उद्योग सघं र लुम्बिनी प्रदेश उद्योग परिसंघले आयोजना गरेको प्रदर्शनीले उद्योगी, उपभोक्ता, विज्ञहरु र सरकारी निकायबीच अन्तर्क्रियाको अवसर पनि सिर्जना गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्