बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित



स्याङ्जा । बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्। स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन्। तर बजार नपाउँदा समस्या आएको हो।

कोभिड–१९ महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन छाडेको फार्मका सञ्चालक भीम लुइँटेलले बताए। पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग अत्यधिक हुने र पुगाउनै धौधौ हुनेगरेकोमा पछिल्लो समय बिक्री नभएर माउ तथा पाठापाठी पाल्नुपर्ने बाध्यता आइपरेको उनले बताए। त्यहाँ माउ र पाठापाठी गरी एक हजार तीन सय वटा बंगुर छन्। “पाठापाठी बिक्री भएनन्, बिक्री नभएपछि राख्ने ठाउँ भएन”, उनले भने, “राख्ने ठाउँको अभाव, दानापानी तथा औषधि उपचार अभावले चार सयको हाराहारीमा पाठापाठी मरिसकेका छन्।”

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा काम गरेका उनले घर फर्केर २०७१ सालमा फार्मको सुरुआत गरेका थिए। शुरुआती चरणमा ब्राह्मणको छोराले बङ्गुर पाल्यो भनेर खिसी गर्नेहरु पछिल्लो समय प्रशंसक समेत बनेको उनले बताए। फर्मको शुरुदेखि हालसम्म रु नौ करोड लगानी भइसकेको उनले बताए।

तयारी भएका माउ तथा पाठापाठी बिक्री नभएपछि पाल्नुपर्दा थप लगानी बढेको उनको भनाइ छ। अहिले सात सय वटा बिक्रीको तयारीमा छन् । “पहिला तयार भएका माउ तथा पाठापाठी बिक्री भई आम्दानी हुन्थ्यो, त्यही आम्दानी दानापानी तथा औषधिमा खर्च गरिन्थ्यो” उनले भने।

तयारी अवस्थाका माउ तथा पाठापाठी बिक्री भएमा न्यूनतम रु दुई करोड आम्दानी हुने अनुमान उनको छ। यता माउ तथा पाठापाठी बिक्री हुँदैनन्, उता उल्टै दानापानी तथा औषधि उपचारमा मासिक रु २० लाख घाटा लाग्ने दाबी व्यवसायी लुइँटेलको छ। उनी आफैले फ्रेस हाउस सञ्चालन गरे तर त्यहाँ पनि सन्तोषजनक मासु बिक्री भएन। पाठापाठी बाहिरी जिल्लामा बिक्री हुँदै आएकोमा पछिल्लो समय माग आउन छाडेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्