नैन्ही गाउँमा फैलिएकाे झाडापखालाकाे कारण स्वयं स्थानीय : जनप्रतिनिधि



महोत्तरी (नैन्ही)  : जलेश्वर नगरपालिका १२ नैन्हीमा हाल २ सय १२ जना झाडापखालका रोगी फेला परेका छन् । झाडापखालाबाट चार वर्षीय एक बालिकाको मृत्यु भएको छ । अन्यको उपचार जारी छ । केही रेफर भएर सदरमुकामको जिल्ला अस्पतालमा भर्ना भएका छन् ।

 

द नेपाल टपको टिम साढे १० बजे बिहान नैन्ही पुग्दा १४ जनाको उपचार स्थानीय एक मदरसामा भइरहेको पाएको थियो । अहिले मदरसामा उपचारार्थ संबुल खातुन, सबाना खातुन, आइसा खातुन, खालिद अन्सारी, सहजैद आलम, नसरा खातुन, मुकेश मुखिया, हमीदा खातुन, वाहिद कवारी, सफ्युल अन्सारी, मोमिना खातुन, प्रमिलादेवी मुखिया र शोभादेवी मुखिया उपचारारार्थ छन् ।

 

एकै वार्डमा उपचार गराउनेमा अधिकांश महिला छन् । उपचारमा अहिले डाक्टर सुबोध मिश्र, डाक्टर सुधीर यादव, डाक्टर दीपेन्द्र मेहता, नर्सिंङ स्टाफ लक्ष्मी मुखिया, राहुल सिंह, बन्दना मण्डल र सुस्मिता सिंह छन । त्यस्तै स्थानीय सहयोगीमा तथ्यांक संकलनका लागि नीरज कर्ण, सन्तोष ठाकुर र सञ्जय शर्मा छन् ।

 

जलेश्वर १२ नैन्ही मुस्लिम टोलमा असोज २ गते अचानक बस्तीका मानिस बिरामी हुन थालेपछि समग्र मुस्लिम टोलमा महामारी फैलिएको थियो । वडाध्यक्ष मैनले फैलिएको महामारीबारे सञ्चारकर्मीलाई जानकारी दिएका थिए । 

वडाध्यक्ष ठाकुरले नगरपालिकाले औषधि र एम्बुलेन्स निःशुल्क उपलब्ध  गराएको पनि जानकारी दिए । उनले भने, ‘यो डायरिया र महामारी हुनुको कारण केही दिन अघि भारतीय माछा गाउँलेले खाएका थिए, सोही कारण यस्तो भएको हो ।’ 

ठाकुरका अनुसार टोलीले पानी, दिसा र पिसाबको नमुना लगेको जाँच भइरहेको छ । साँझसम्म रिपोर्ट आउने र बिरामी हुनुको अन्य कारण पनि पत्ता लाग्ने उनले बताए । 

 

जलेश्वरका मेयर शंकर शाहीले भने झाडापखाला फैलिएका अधिकांश भारतीय बजारमुखी हुनु र त्यहाँका विषादीयुक्त खानेकुरा बढी खानाले बिरामी परेको तर्क गरे । शाहीले भने, ‘एउटै थालमा कुखुरा पनि खान्छन र अनि मान्छेले पनि खान्छन्, हामीले कति सम्झाउने ?’ सरसफाइ र सचेतनाको कमी यो समस्या आएको उनले दाबी गरे ।

 

सञ्चारकर्मीसमक्ष उनले भने, ‘जानुस् आफैं हेर्नुस्, घरघरमा कुखुरा बाख्रा पालेका छन, तर सरसफाइ फिटिक्कै छैन ।’ महामारी फैलिएको मुस्लिम बस्तीको ३ सय घरधुरीमा ५ हजारभन्दा बढी जनसंख्या छ । 

 

यसअघि भदौ ३० गते ४ वर्षीय खुश्बु खातुनको झाड़ापखालाबाट मृत्यु भएपछि टोली खबर लिने क्रममा त्यसतर्फ गएको वडाध्यक्ष ठाकुरले जानकारी दिए । अहिले वडा १२ मा दैनिक ६ जना स्वयंसेवक खटाएको उनले बताए । 

 

खटिएका स्वयंसेवक वडामा सरसफाइका लागि गएका र खुला दिसापिसाब मुक्त गर्ने अभियानमा जुटेका पनि उनले नेपाल टपको टिमलाई जानकारी गराए । साथै उक्त वडामा सचेतनामूलक कार्यक्रम पनि भइरहेको उनले जानकारी दिए । 

 

उक्त वडाका ८० प्रतिशत घरमा शौचालय भए पनि उनीहरु शौच गर्न खुला ठाउँमा जाने गरेको पाइएको छ । समस्या उत्पन्न भएपछि अहिले गाउँको स्थानीय नैन्ही युवाक्लबले जनचेतनामूलक सरसफाइका कार्य गरिरहेको छ । 

 

अहिलेसम्म झाड़ापखालाबाट प्रभावित वडा १२ का १८ जनालाई जलेश्वर रेफर गरिसकिएको डाक्टर सन्तोषकुमार ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार रेफर गरिएकाको अवस्था सामान्य रहेको बताइएको छ ।

रेफर गरिएकामध्ये २ जना सुत्केरी महिला पनि रहेका जिल्ला जनस्वास्थ्य दैवीप्रकोप हेर्ने डाक्टर ठाकुरले बताए ।  डाक्टरहरुले झाडापखालाको प्रमुख कारण सरसफाइको अभाव भएको बताएका छन् । 

 

जनकपुरधामबाट समाजसेवी दीपेन्द्र सिंह, कृष्णा सिंह, बजरंग यादव, अमर यादव, सुमित कर्णसहित प्रभावित स्थलमा जनचेतना फैलाउन पुगेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्