कांग्रेसमा तनाव, देउवाविरुद्ध घेराबन्दी सुरु



काठमाडौं । सङ्घीय र प्रदेश सरकारको नेतृत्व लिने अवसर चुकेपछि नेपाली कांग्रेसभित्र भाँडभैलो सुरु भएको छ। संस्थापनइतर खेमाले सभापति शेरबहादुर देउवालाई पार्टी नेतृत्व छाड्न दबाब दिएको छ। संस्थापनइतर खेमाले देउवासँग गठबन्धन भत्किनुपर्ने प्रष्ट जबाफ र कारण माग्ने भएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा देउवा र देउवा निकटका नेता एवं पदाधिकारीहरूसँग चर्चाचर्की बहस हुने इतर खेमाका एक नेताले बताए। ‘लोकतन्त्रको नाममा पार्टीभित्र राणातन्त्र हावी छ, देउवा र केही नेताहरूले बहुमतसँग दम्भ राख्दा यो अवस्था आयो, कार्यसमिति बैठकमा पार्टी नेतृत्व चुप रहन पाउँदैन’, ती नेताले भने।

आगामी २२ पुसमा कांग्रेसको कार्यसमिति बैठक बस्दै छ। पार्टीभित्र सीमित व्यक्ति हावी हुँदा र नेतृत्व इमान्दार नहुँदा कांग्रेसले महत्वपूर्ण अवसर गुमाएको बुधबारको इतर खेमाको निष्कर्ष छ। नेकपा (माओवादी केन्द्र)सँगको पूर्वसहमति कार्यान्वयन नगर्दा छैटौँ पटक प्रधानमन्त्री बन्ने निधोझैँ भएका देउवा गठबन्धन सरकारको नेतृत्व गर्ने अवसरबाट चुकेका छन्।

सातै प्रदेशसमा सरकार गठनमा निर्णायक बनेको कांग्रेस गठबन्धन भत्किएसँगै प्रतिपक्षमा खुम्चिने भएको छ। यससँगै कांग्रेसले सङ्घदेखि प्रदेशका ३५ राजकीय पद गुमाएको छ । नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धन र पार्टीको भावी रणनीति तय गर्न इतर खेमाले कार्यसमिति बैठकअघि पुनः छलफल गर्नेछ।

बुधबारको बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी थिए। त्यसैगरी नेताहरू अर्जुननरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, सरिता प्रसाईंलगायत उपस्थित थिए। संसदीय दलको नेता चयनमा महामन्त्री थापालाई सघाएका र उनको पक्षमा माहोल बनाएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने इतर खेमाको भेलामा सहभागी भएनन्।

पार्टीमा संस्थागतभन्दा व्यक्तिगत प्रवृत्ति हावी हुँदा गठबन्धन भत्किएको र नेतृत्वलाई खबरदारी नगर्दा अझै पार्टीको गरिमा खस्किने अधिकांश नेताको ठहर छ। अर्को बैठकमा शर्मा, पौडेललगायत देउवा खेमाका कतिपय नेता पनि सहभागी बन्ने नेता डा. शेखर निकटका एक नेताले बताए। ती नेताले भने, ‘सभापतिले यत्रो ठूलो गल्ती गर्दा नेतृत्वप्रति मौन रहनु भनेको अलोकतान्त्रिक पद्धतिलाई स्वागत र स्वीकार गर्ने काम हो । उहाँ (देउवा)को पछिल्लो अपरिपक्व हठले कार्यसमितिका धेरै पदाधिकारीहरू असन्तुष्ट हुनुहुन्छ।’

सङ्घीय र प्रदेश निर्वाचनअघि नेता डा. शेखर, महामन्त्री शर्मालगायतका नेताहरूले गठबन्धनबिना कांग्रेस निर्वाचन प्रतिस्पर्धामा जानुपर्ने तर्क राख्दा देउवालगायतका नेताहरू यो तर्कमा सहमत थिएनन्। आफ्ना उम्मेदवारले जित्ने सुनिश्चित भएका क्षेत्र गठबन्धन दललाई बाँडफाँट गर्दा निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त नगरेको शेखरलगायतका नेताहरूको तर्क छ। सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर खेमाबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ।

पछिल्लो राजनीतिक घटनाक्रम विकसित हुनुमा महामन्त्रीहरूकै सहयोग नरहेको प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरूको आरोप छ । युवा नेता गुरुराज घिमिरेलगायतले सभापति देउवाको राजीनाम मागेका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्ता लिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, गठबन्धन तोडिएलगत्तै नेता घिमिरेले सामाजिक सञ्जालमा लेखेका थिए।

पार्टी नेतृत्वविरुद्ध एकपछि अर्को असन्तुष्टि चुलिएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक तय गरेको हो। कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने छलफल भइरहेका बेला महामन्त्री थापा र शर्मा आफ्नो दायित्व बिर्सिएर पुगेका संस्थापन खेमाका नेताहरूको तर्क छ।

बुधबारको बैठकमा सभापति देउवाको एकोहोरो हठ र एकतर्फी कदमले महत्वपूर्ण अवसर गुमेकामा सहमत भएका नेता शेखर अपराह्न विराटनगर पुगेपछि देउवाप्रति केही नरम देखिएका छन्। देउवा र अन्य पार्टी पदाधिकारीलाई कारबाही गर्नुपर्ने भन्ने माग गलत रहेको उनको तर्क छ। ‘मुखमा आएको सत्ता गयो भन्ने मलाई चिन्ता छ’, कोइरालाले सञ्चारकर्मीहरूसँग भने, ‘तर, कारबाही भन्ने हुँदैन।’

गठबन्धन दलहरूबीच प्रधानमन्त्री, राष्ट्रपति वा अन्य पदको बाँडफाँट देउवालगायत वार्तामा रहेकाले टुङ्ग्याउनुपर्नेमा विवेकपूर्ण छलफल नभएको उनको ठहर छ। कोइरालाले विशेष महाधिवेशनको बदला नीति महाधिवेशन बोलाउन जरुरी भएको बताए। फरकधार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शङ्कास्पद रहेको आवाजलाई पार्टीले महत्वहीन ठान्दा पछिल्लो राजनीतिक घटनाक्रम विकास भएको बताउँदै उनले सोमबार विज्ञप्ति जारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्